काठमाडौं । सरकारले ठूला पूर्वाधार निर्माण गर्न प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा जोड दिइरहेका बेला सडक निर्माण तथा विस्तारका क्षेत्रमा पौने २ खर्बका परियोजना पाइपलाइनमा छन् । रणनीतिक सडक निर्माण र विस्तारका लागि पौने २ खर्बका आधा दर्जन सडक निर्माण तथा विस्तार र सुरुङमार्ग निर्माण परियोजनामा विदेशी प्रतिबद्धता आइसकेको सडक विभागले जनाएको छ ।
विदेशी लगानी सहयोगमा पौने २ खर्बका सडक परियोजना पाइपलाइनमा रहेको विभागका वैदेशिक सहायता विभाग प्रमुख अर्जुनजङ्ग थापाले क्यापिटल नेपाललाई जानकारी दिए ।
खासगरी विश्व बैंक, चीन, जापान सहयोग नियोग (जाइका), एसियाली विकास बैंक (एडीबी) र भारत सरकारले सडक निर्माण तथा विस्तारका लागि प्रतिबद्धता जनाएअनुसार नै परियोजना पाइपलाइनमा रहेको थापाले बताए ।
उनका अनुसार, अहिलेको सबैभन्दा महत्वपूर्ण रणनीतिक सडक मुग्लिन–नारायणगढ र पूर्व–पश्चिम राजमार्गअन्र्तगत पथलैयादेखि कमला सडक खण्डको निर्माण र विस्तारमा विश्व बैंकको सहयोग रहनेछ ।
विश्व बैंकले रणनीतिक सडक ‘कनेक्टिभिटी’ विस्तार आयोजनाअन्तर्गत दुई ओटा सडकको निर्माण र विस्तार गर्न ६३ अर्ब रुपैयाँ लगानी गर्दैछ । यसवर्ष दुवै सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइसक्ने र तीन वर्षभित्र सडक विस्तार गर्ने लक्ष्य छ ।
त्यस्तै, चीन सरकारले काठमाडौं चक्रपथको कलङ्कीदेखि चाबहिलसम्म सडक चौडा र विस्तारका लागि ६ अर्ब लगानी गर्दैछ । चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्की–चावहिलसम्म अहिले रुख कटान, पाइपलाइन, तार व्यस्थापनलगायत ‘साइट क्लियरेन्स’का काम भइरहेका छन् । आगामी चैतदेखि चिनियाँ निर्माण कम्पनीलाई सडक निर्माणका लागि हस्तान्तरण गर्ने योजनामा सडक विभाग छ ।
जाइकाकै सहयोगमा नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण यसै वर्षको पाइपलाइन आयोजना हो । झन्डै १६ अर्ब जाइकाको लगानी रहने सुरुङमार्ग निर्माणका लागि कम्पनी छनोट प्रक्रिया अन्तिम चरणमा छ ।
त्यस्तै, अहिले धुलिखेल–बाह्रबिसे–तातोपानीसम्म सडक विस्तार र चौडा गर्न पनि जाइकाको सहयोग प्रतिबद्धता आएको विभागले जनाएको छ । झन्डै १७ अर्ब रुपैयाँ जाइकासँग माग गरिएको र सकारात्मक प्रतिक्रिया आएको थापाको भनाइ छ ।
यता, रसुवागढी–स्याफ्रुवेँशी सडक निर्माण गर्न चीन सरकारले थप ४ अर्ब रुपैयाँ सहयोग गर्दैछ । अहिले विदेशी सहयोगमा झन्डै आधा दर्जन सडक परियोजना पाइपलाइनमा रहेको थापाको भनाइ छ ।
एसियाली विकास बैंकको पनि सडक निर्माणमा सहयोग छ । अहिलेसम्म करिब ७० अर्ब रुपैयाँ एडीबीको सहयोग प्रतिबद्धता आएको विभागले जनाएको छ । खासगरी बुटबल–नारायघाट सडक निर्माण पनि एडीबीकै सहयोगमा अघि बढ्ने पाइपलाइन आयोजना हो । जहाँ २० अर्ब रुपैयाँ एडीबीको लगानी प्रतिबद्धता आइसकेको छ ।
त्यस्तै, आँबुखैरनी–पोखरा (८० किमी), मुग्लिङ–आँबुखैरेनी (९ किमी), कमला–कन्चनपुर (८० किमी) र पूर्व–पश्चिम राजमार्गअन्र्तगत बुटवलदेखि पूर्वीखण्डको सडक विस्तारमा एडीबीले नै सहयोग रहने सडक विभागका प्रवक्ता तथा योजना महाशाखा प्रमुख शिवहरि सापकोटाले बताए ।
उनले एडीबी र विश्व बैङ्कले सडक र निर्माण क्षेत्रमा लगानी र सहयोग बढाउँदै गएको बताए । उनका अनुसार ४५० मिलियन अमेरिकी डलर (झन्डै साढे ५१ अर्ब रुपैयाँ) लगानी आइसकेको र केही सहयोग प्रतिबद्धता आउने क्रममा रहेको बताए ।