काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले उद्योगी व्यवसायका माग सम्बोधन गर्न नसकेको बताएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवर्षिक समीक्षाले उत्पादनमूलक उद्योगलाई कम ब्याजदरमा कर्जा उपलब्ध गराउन अध्ययन गर्ने विषयले औद्योगीकरणमा सहयोग पुग्ने देखिए पनि अन्य मौद्रिक उपकरणले व्यापार ,व्यवसाय एवं लगानी प्रभावित हुने बताएको छ ।
निक्षेपको ब्याजदर बढाउँदा बैंक वित्तीय संस्थामा निक्षेप बढ्न नसकेको पछिल्लो ६ महिनाको अवस्था ज्ञात हुँदाहुँदै कर्जाको ब्याजदर बढाउनेतर्प मौद्रिक नीतिको समीक्षा केन्द्रित हुँदा पुँजीको लागत थप बढ्न जाने महासंघको भनाइ छ । यसले व्यवसायी मात्ररै नभई बैंक वित्तीय संस्थामा समेत समस्या देखिने महासंघको भनाइ छ ।
आयात निरुत्साहित गर्नेतर्फ मौद्रिक नीति केन्द्रित हुँदा यसले उत्पादन, मूल्यवृद्धि, राजस्व र रोजगारीमा नकारात्मक असर गर्ने महासंघले जनाएको छ । कोभिड-१९ महामारीका कारण संकटमा परेको व्यवसाय पुनर्रुत्थानका लागि पुनर्कर्जा, पुनर्तालिकीकरण र कर्जा पुनर्संरचनामर्फत राहत दिएको केन्द्रीय बैंकले तेस्रो लहरको प्रभाव कायमै रहेका बेला पुनर्कर्जाको ब्याजदरसमेत बढाउँदा साना तथा मझौला उद्यमी प्रभावित हुने बताइएको छ ।
मौद्रिक नीतिको समीक्षामा ट्रष्ट रिसिटलगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गर्दा यसले ब्यापारमा असर गर्ने महासंघको बुझाई रहेको छ ।
निर्यात प्रवर्द्धन र मुलुकभित्र रकम भित्र्याउन अन्य उपाय अवलम्बन नगरी आयात घटाउने उपाय अबलम्बन गर्नाले अनधिकृत व्यापार बढ्नुका साथै मूल्यसमेत अकासिने महासंघको धारणा छ ।
करिब ४९ लाख सर्वसाधारण जोडिएको सेयर बजार कर्जामा गरिने कडाइले मूलतः साना लगानी प्रभावित हुने भन्दै महासंघले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।