काठमाडौं । गेट–वे पेमेन्टले देशमै पहिलोपटक क्रसबोर्डर अनलाइन भुक्तानी सेवा सुरु गरेको छ ।
गेट-वेले फागुन ५ गते भारतको पीएसओ नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) सँग युनिफाइड पेमेन्ट इन्टरफेस युपीआई सञ्चालनका लागि सम्झौता गरेको हो ।
यससँगै अब अन्तरसीमा कारोबारअन्तर्गतको पैसा देशमा बैंकिङ च्यानलबाट मात्र भित्रिने गेट–वेका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धर बताउँछन् ।
‘यसअघि भारतीयहरु नेपाल आउँदा हातमै क्यास बोकेर आउँथे’, उनले भने, ‘तर, अब युनिफाइड पेमेन्ट इन्टरफेस सञ्चालन भएपछि उनीहरुले पनि यहाँको क्युआर कोड स्क्यान गरी आफ्नै वालेट र बैंकिङ एपबाट भुक्तानी गर्न सक्नेछन् ।’
मानन्धरका अनुसार नेपाल सरकार तथा राष्ट्र बैंकको ‘लेस क्यास इकोनोमी’ को अवधारणाअनुसार अन्तरसीमा कारोबार सेवा सुरु गरिएको हो । अहिलेसम्म हातमा नगद बोकेर, कारोबार गर्ने भारतीय नागरिक तथा पर्यटकहरुले अब सबै खर्च बैंकिङ रेगुलेटरी च्यानलबाट गर्नेछन् ।
क्रसबोर्डर पेमेन्टले ‘लास्ट माइल पेमेन्ट’ लाई पनि सहजीकरण गर्ने हुँदा बाह्य पर्यटकले नेपालभित्र कति खर्च गरे भन्ने कुराको तथ्यांक प्रत्यक्ष देख्न वा राख्न सकिने उनी बताउँछन् । यसले बाह्य पर्यटक वा विदेशी नागरिकले देशमा भित्र्याउने अर्थतन्त्रको आकारलाई स्पष्ट बनाउने उनको विश्वास छ ।
हाल राष्ट्र बैंकले ‘इन बाउन्ड’ विद्युतीय कारोबारलाई छुट दिएको हुँदा सम्झौता गरेको ३ महिनामा कम्पनीले यो सेवा सुरु गर्नेछ । तर ‘आउट बाउन्ड’ मा भने नीति अझै कडाइ भएको हुँदा ५ देखि ६ महिनासम्म लाग्नेछ ।
‘अहिले हामीले एनपीसीआईसँग इनबाउन्डका लागि सम्झौता गरेका हौं’, सीईओ मानन्धरले भने, ‘३ महिनापछि यो लागू हुँदा भारतीय पर्यटकले मात्र यो सुविधा प्राप्त गर्ने छन् । तर, आउट बाउन्ड खुलाउन पनि हामी राष्ट्र बैंकसँग छलफल गरिरहेका छौं । सायद ६ महिना जति समय लाग्ला । त्यसपछि नेपालीहरुले पनि भारतमा गएर आफूले प्रयोग गरिरहेको वालेट तथा मोबाइल बैंकिङबाट क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।’
भारतबाहेक अन्य मुलुकहरुसँग पनि यस किसिमको अन्तरसीमा विद्युतीय भुक्तानीका लागि सहकार्य गर्ने तयारीमा कम्पनी रहेको उनले जानकारी दिए । निकट भविष्यमा अन्य मुलुकसँग पनि यस्तो सुविधाबाट बाटो खुल्ने भनिए पनि कुन मुलुकसँग भन्ने कुरा अहिले खोल्न नचाहेको बताए ।
गेट–वे पेमेन्ट नेपालको क्रसबोर्डर पेमेन्ट सर्भिस अपरेटर कम्पनी हो । ३ वर्षअघि स्थापना भएको यस कम्पनीले १ वर्षअघि मात्र नेपाल राष्ट्र बैंकबाट पीएसओको अनुमति पत्र पाएको हो ।
हाल कम्पनीले अन्तरसीमा र घरेलु दुवै पेमेन्ट उद्योगमा भुक्तानी सहजीकरणको काम गर्दै आइरहेको छ ।
यसैगरी एनपीसीआई भारतको राष्ट्र बैंक आरबीआईको भुक्तानी प्रवद्र्धक हो । उक्त कम्पनीमा पेटीएम, गुगल–पे, फोन–पे, भारत–पे लगायत धेरै जसो अन्तराष्ट्र्रिय पेमेन्ट कम्पनीहरु संलग्न छन् ।
गेट–वे पेमेन्ट र एनपीसीआईको सहजीकरण पनि नेपालका सम्पूर्ण पीएसपी तथा भारत तथा एनपीसीआईमा आवद्ध अन्तर्राष्र्टिय पीएसपीबीच कारोबारका लागि बाटो खुल्ने छ ।
ंं