संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेका निर्णय एकपछि अर्को विवादित बन्दै गएका छन् । नेकपा एमाले सरकारमा रहँदा वनमन्त्री भएका आले एमाले पार्टी विभाजन भएसँगै नेकपा एकीकृत समाजवादीमा लागे ।
गठबन्धन दलको सदस्यका रूपमा पर्यटनमन्त्री बनेका आले कतिपय अवस्थामा ‘स्टन्ट’ मन्त्रीको रुपमा चिनिन थालेका छन् । जत्थासहित अनुगमनमा जाने र विषयवस्तु तथा परिस्थितिको मूल्यांकन नगरी सस्तो लोकप्रियताका लागि काम गर्न खोज्ने प्रवृृत्ति उनमा देखिएको छ ।
२०७८ असोज २३ गते पर्यटन मन्त्रीको जिम्मेवारी सम्हालेका आलेको ‘हनिमुन’ समय सकिएको छ । मन्त्री आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सञ्चालन र पीसीआर परीक्षणको शुल्क घटाउन भूमिका खेलेको देखिए पनि सतहमा आएका धेरै निर्णयहरू विवादमा तानिएका छन् । पर्यटन मन्त्रालयअन्तर्गतका नियुक्ति खाने व्यक्तिहरू पनि विवादित पात्रका रूपमा देखिएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई हटाएसँगै ६ वरिष्ठ अधिकृतहरुलाई पनि पाखा लगाउँदै प्रदीप अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको कार्यकारी अधिकार खोसी कार्यकारी अध्यक्ष युवराज अधिकारी नियुक्त गरे । तर, दुवै जना विवादित पात्र देखिएका छन् । यद्यपि क्षेत्रीलाई सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिँदै पद थमौती गरिदिएको छ ।
प्राधिकरणका महानिर्देशक अधिकारीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनियमिततासम्बन्धी उजुरी छ । त्यस्तै, निगमका कार्यकारी अध्यक्ष अधिकारीमाथि पनि यौन दुराचारको आरोप लागेको छ ।
एकदमै उछालिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीका विषयमा छानबिन समितिले दिएको सुझाव कार्यान्वयन भएको छैन । यद्यपि निर्णय आउनुअघि नै निलम्बित अवस्थामै रेग्मीले सर्वोच्चबाट अल्पकालीन अन्तरिम आदेश ल्याएर काम गरिरहेका छन् ।
केही समयअघि मन्त्री आले स्वयंले नारायणहिटी दरबारभित्र छिरी बतास समूहले सञ्चालन गर्न लागेको कफी सपको संरचना भत्काए । यस्तै सोही समूहले सञ्चालन गरेको पशुपति धर्मशालाको होटल बन्द गर्न फिल्डमा खटिए । तर, सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै सरकारलाई कुनै हस्तक्षेप नगर्न भन्यो ।
उता, माघ २६ गते मन्त्रीस्तरीय निर्णय गर्दै दरबारमार्गमा रहेको पाँचतारे होटल याक एन्ड यतिमा २०७० देखि सञ्चालित क्यासिनोले रोयल्टी र नवीकरण शुल्क नदिएको भन्दै बन्द गर्न निर्देशन दिए ।
होटलले भने क्यासिनो सञ्चालन अनुमति २०७१ मै रद्ध गरिएकाले आफ्नो बक्यौता नभएको दाबी गरिरहेको छ । एकातिर ‘स्टन्ट’ देखाएर राम्रो काम गरेको प्रचार गर्ने आलेले अर्कोतिर लुम्बिनी विकास कोषको क्षेत्रभित्र रिसोर्ट बनाउन मंसिर ११ मै संसरा वेलनेस कम्पनीलाई सुटुक्क जिम्मेवारी दिएका थिए ।
निगममा कार्यकारी अध्यक्ष आएको ३ महिना बढी भइसक्दा पनि पूर्णरुपमा सञ्चालक समितिको बैठक नबस्दा महत्वपूर्ण निर्णय हुन सकिरहेका छैनन् । जहाज खरिद गर्दा लिइएको ऋणको सावाँ–ब्याज तिर्न सकेको छैन । अर्थ मन्त्रालयले निगमलाई कम्पनी मोडलमा लैजान भनेको छ तर, मन्त्री आले कम्पनी मोडलमा नलैजाने र अहिलेकै अवस्थामा सञ्चालन गर्ने भन्दै यसअघिको निर्णय रद्ध गराएका छन् ।
सरकार थप जमानी बस्ने स्थिति नभएको भन्दै अर्थले निगमको सम्पत्ति लिलाम गरी दुवै कोषलाई पैसा उठाउन अनौपचारिक निर्देशन दिएको छ । यस्तो स्थितिमा कसरी निगम चलाउने भन्ने योजना अघि आएको छैन ।
कोभिडको प्रभावले थला परेको पर्यटन क्षेत्रलाई उकास्न काम गर्नुपर्ने पर्यटन मन्त्रालय स्टन्टबाजीमा उत्रेर पर्यटन क्षेत्रलाई थप समस्या पार्न उद्यत छ । निजी क्षेत्रका संस्थाहरु पर्यटनमन्त्री आलेले पर्यटन क्षेत्रमा बढाउँदै गएको अनावश्यक हस्तक्षेप रोक्न माग गर्दै आएका छन् ।
विगतमा सांसदका रुपमा सार्वजनिक लेखा समितिमा चर्का भाषण गर्ने उनले आफैं पर्यटनमन्त्री भएपछि निगमका समस्या समाधान गर्नेभन्दा पनि अझ बल्झाउन तल्लीन छन् । आलेसमेत सहभागी लेखा समितिअन्तर्गत गठित उपसमितिले तत्कालीन समयमा न्यारोबडी जहाज मर्मतका लागि बोलकबोलमार्फत ठेक्का पाएको लुप्थान्सालाई नै जिम्मेवारी दिन गरेको सिफारिस आफू मन्त्री भएपछि भने वेवास्ता गर्दै नयाँ बोलकबोल आव्हान गरेका छन् । लुप्थान्सा सर्वोच्च पुगेको छ ।
अरूले गरेको काममा औंला उठाउने र आर्थिक चलखेलको आरोप लगाउने मन्त्री आले आफूचाहिँ विवादित पात्रहरुलाई नियुक्ति गर्दा चुपचाप छन् । ‘अरूको आङमा जुम्रा हिँडेको देख्ने तर आफ्नै आङमा भैंसी हिँडेको नदेख्ने’ नेपाली उखान मन्त्री आलेको हकमा चरितार्थ हुन्छ ।
अझ पछिल्लो समय मन्त्री आलेको अपाच्य/अश्लील संवाद बाहिरियो । नेपाली समाजले सुन्नै नसक्ने अभद्रता देखाएका आले खाली ‘स्टन्ट’ देखाउने र गैरजिम्मेवार रुपमा प्रस्तुत भइरहँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवा मौन रहनु चिन्ताको विषय हो ।
क्यापिटल बिजनेस म्यागेजिनबाट ।