काठमाडौं । आर्थिक संकटमा परेर पुस २१ गतेदेखि बन्द भएको ग्रिनलाइन सेन्टर आइतबारबाट सञ्चालनमा आउने भएको छ । बैंकहरूको पूर्ण साथ पाएसँगै बन्द भएको करिब ४५ दिनपछि सञ्चालनमा आउन लागेको हो ।
नेपाल इन्भेस्टमेन्ट तथा एभरेस्ट बैंकले कान्तिपथमा सञ्चालित पसलमा ताला लगाएपछि तनावमा परी सञ्चालक अमित अग्रवाल केही समय भारत गएका थिए । उताबाट फर्किएका अग्रवालले गत शुक्रबार पत्रकार सम्मेलन गरी सबैको ऋण तिर्ने प्रतिवद्धता जनाएका थिए ।
४५ दिनदेखि बन्द रहेको पसलकाे बिहीबार दुवै बैंकले स्थलगत निरीक्षण गरेका थिए । उनीहरूले स्टकसमेत चेकजाँच गरेका थिए । ‘स्टक चेकजाँच गर्दा पर्याप्त देखियो’, इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले भने, ‘जुन तरिकाबाट समाचार बाहिर आयो, त्यस्तो अवस्था देखिएन ।’
मिति सकिएको वाइन तथा मदिरा मात्रै गोदाममा छ भनिएको थियो । निरीक्षण गर्दा सबै वाइन तथा मदिरा बिक्रीका लागि योग्य पाइएको उनले बताए ।
बिहीबार सञ्चालक, बैंक र घरभेटीबीच सम्वाद पनि भएको छ । सम्भवतः आइतबारबाट ग्रिनलाइन सञ्चालनमा आउँदैछ । बैंकले ताला भोलि नै खोल्ने सम्भावना छ ।
निरीक्षणको क्रममा हल्ला गरिएकोझैं सामान ड्यामेज नरहेको पाइएकाले घरबेटी, बैंकहरू र सञ्चालकबीचको छलफलपछि आइतबारबाट पसल सञ्चालन गर्ने आन्तरिक तयारी भएको छ । पसल सञ्चालन भएपछि बैंकको ब्याज र किस्ता तिर्ने सहमतिसमेत भइसकेको छ ।
पसल सञ्चालन गर्न थप रकम आवश्यक परेमा बैंक दिन तयार रहेको सीईओ पाण्डेले बताए । आवश्यक ऋण दिन बैंकहरूसमेत सकारात्मक छन् । भित्र कुनै समस्या छैन । यदि सञ्चालकले ऋण लिन चाहेमा बैंक उनलाई ऋण दिन तयार छ ।
अग्रवालले आफूसँग अहिले पनि केही स्टक सामान रहेको र बजारमा पनि ५ करोडभन्दा बढी रकम उठ्न बाकी रहेकाले केही समयभित्र सामान्य अवस्थामा आफूहरू फर्कने जानकारी दिएका थिए ।
विभिन्न ठाउँमा रहेका घर जग्गा र अपार्टमेन्टहरू यसअघि नै बिक्रीका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै बैना लिएकाहरूलाई धमाधम पास गरेर दिने उनको भनाइ छ ।