४ महिनापछि नेपाल धितोपत्र बोर्डले अध्यक्ष पाएको छ । यस अघिका अध्यक्ष सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि उनलाई सरकारले कारबाही गरेर नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया थालनी गरेको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडलको संयोजकत्वमा बनेको अध्यक्ष छनोट सिफारिस समितिले रमेशकुमार हमालसहित अन्य २ जनाको नाम मन्त्रिपरिषदमा पठाएको थियो । ३ जनामध्ये बिहीबार हमाललाई सरकारले नियुक्त गरेको हो । उनै हमालसँग क्यापिटल नेपालले गरेको कुराकानीको सारः
तपाईंसहित धितोपत्र बोर्डकै कार्यकारी निर्देशकलाई पनि अध्यक्षका लागि सिफारिस गरिएको थियो । तर, तपाई अध्यक्ष हुनुभयो । अब कसरी मिलाएर लैजानुहुन्छ ?
म जहिले पनि टिममा विश्वास गर्ने व्यक्ति हुँ । मैले जुन-जुन संस्थाको नेतृत्व गरें, ती सबै संस्था सफल हुनुकाे पछाडि टिम वर्क नै हो । मैले गैरआवासीय नेपाली संघदेखि विभिन्न दातृ निकायले सञ्चालन गरेको संस्थाको लिड गरिसकेको छु । त्यहाँ मैले सफलता पनि हात पारेको छु । सफलता हात पार्न मलाई टिमकै सहयोग छ ।
मेरो नेचर पनि टिमबाटै काम लिने छ । त्यही भएर धितोपत्र बोर्डका सबै व्यक्तिसँग समान व्यवहार गरेर उनीहरुबाट पर्याप्त काम लिएर यो संस्थाको छविमाथि उकास्छु ।
म काममा विश्वास गर्ने व्यक्ति हुँ । मैले नेपालकै पनि नेपाल विद्युत् प्राधिकरणमा बसेर काम गरिसकेको छु । त्यहाँ पनि मैले सफलता हात परेको छु । एक्लै हिड्ने वा एकल निर्णय गर्ने मेरो बानी छैन । अध्यक्षले मात्रै संस्था सुधार्ने भन्ने हुन्न । अध्यक्ष भनेको लिड मात्रै गर्ने हो ।
अहिले धितोपत्र बोर्ड निकै बदनाम भएको छ । गिरेको छविलाई माथि लैजान तपाईंसँग कस्ता-कस्ता योजना छन् ?
धितोपत्र बोर्डको गरिमा अहिलेसम्म जुन रूपमा झल्किनुपर्ने, झल्किएको छैन । यो संस्था भनेको समग्र पुँजी बजारको नियामक निकाय हो ।मेरो पहिलो काम भनेको बोर्डको क्षमता विकास गरेर अन्तर्राष्ट्रिय लेभलमा पुर्याउनु पर्ने छ । त्यसका लागि आजैबाट लागिपर्नेछु । संसारभरका नियामकहरू कति प्रभावशाली छन् । उनीहरूको हैसियत कुन तहमा छ ? त्यही रूपमा यो संस्थालाई पुर्याउने मेरो प्रण हो
अन्तर्राष्ट्रिय रूपमा नियामक निकायको रूपमा बोर्डलाई विस्तार गर्ने प्रयास रहने छ । यसलाई बजारले पनि राम्रोसँग हेर्नुपर्छ ।
साना लगानीकर्तालाई कसरी संरक्षण गर्नुहुन्छ ?
साना लगानीकर्ताहरूको संरक्षण गर्नु नै मेरो प्रमुख दायित्व हो । जुन बजारमा साना लगानीकर्ताको प्रोटेक्ट हुन्छ, त्यो विस्तारै ग्रो हुँदै जान्छ । किनकि साना लगानीकर्ताको आकर्षण बढ्दै जाने र उनीहरूले त्यसलाई भरोसाको रूपमा लिइसकेपछि मार्केट फ्लोरेस भइहाल्छ ।
त्यसपछि भनेको बजारमा जोखिम न्यूनीकरणमा लाग्ने छु । अहिले इक्वीटी फोकसमा लागेका छौं । यसका लागि राम्रा र नयाँ प्रडक्टहरू ल्याउनुपर्छ । जसले जोखिम न्यूनीकरण हुन्छ । सरकारी योजना र पूर्वाधारहरूलाई सहयोग गर्ने खालका औजार ल्याउन जोड दिनेछु ।
जस्तो वन्डको ट्रेडिङ, कमोडिटी मार्केटको ट्रेडिङ, कमोडिटी फ्यूचरमा प्राइस फिक्स गर्न सक्ने तथा हेजिङ गर्न सक्ने मेकानिजमलाई व्यवस्थापन गर्ने खालका नीति ल्याउनमा जोड दिइने छ ।
बोर्डमा सूचीकृत कम्पनीको संख्या पनि विस्तारै बढाउँदै लैजाने छु । हरेक क्षेत्रका कम्पनीहरू सूचीकृत हुनुपर्छ । अहिले बैंक, इन्स्यारेन्स र जलविद्युतको मात्र बोलबोला छ । सबै क्षेत्रका उद्योग व्यवसायहरू दर्ता भएर आएपछि साना साना घटनाहरू घट्दा सेयर बजारमा कुनै प्रभाव पर्दैन । तर, ठूला-ठूला घटना घट्दा भने संसारभर नै समस्या भइरहन्छ ।