काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजको इन्जिन फेर्न तेस्रो पार्टीले ठेक्का पाएको छ । भाडामा लिन लागिएको उक्त इन्जिनको ठेक्का पहिलो र दोस्रो पार्टीलाई पन्छाएर तेस्रोलाई दिन आँटिएको हो । यसरी तेस्रो पार्टीबाट इन्जिन भाडामा लिने तयारी भइरहँदा विभिन्न आशंकाहरु उब्जिन थालेका छन् ।
स्मरण होस्, इन्जिन फेर्न भाडामा लिने टेन्डर आव्हान गर्दादेखि नै निगम विवादमा परेको थियो ।
निगमले यही माघ २४ गते विज्ञप्ति जारी गर्दै मूल्यांकनका आधारमा बोलपत्रबाट एमटीयू मेन्टिनेन्स लेन्स सर्भिसबाट छनोट गरी इन्जिन भाडामा लिन प्रक्रिया अघि बढाइसकेको जनाएको छ । यस्तै समस्याग्रस्त इन्जिन मर्मतका लागि निगमले २४ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
एमटीयू नेदरलल्यान्डको कम्पनी हो ।
बोलपत्रमा छनौट भएको पहिलो कम्पनी एभीवन थियो । तर, उसले सुरुको दायित्वभन्दा अतिरिक्त शुल्क थपेर पठाएपछि निगमले पहिला जतिमा बोलकबोल गरिएको हो सोही मूल्यमै गर्न भनेपछि कम्पनी ब्याक भएको थियो । सो कम्पनीले निगमले दिएको मूल्यमा गर्न नसक्ने भन्दै पत्रसमेत पठाएको दाबी छ । त्यसपछि निगमले दोस्रो पार्टी मोइलीसाईलाई सम्पर्क गरेको थियो ।
उक्त कम्पनीलाई निगमले सम्पर्क गर्दा उसले २४ फेबु्रअरी (फागुन) १२ गतेसम्म मात्र इन्जिन उपलब्ध गराउने भनेपछि तेस्रो पार्टी एमटीयू मेन्टिनेन्स लेन्स सर्भिसलाई जिम्मा दिइएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको भनाइ छ । दोस्रो र तेस्रो पार्टीबीच भन्दा महिनाको ९० डलर मात्र तलमाथि भएकाले उसैलाई जिम्मा दिएको जानकारी दिए ।
‘हामीलाई निगमको जहाज छिटोभन्दा छिटो चलाउनुपर्ने भएकाले दोस्रो पार्टीलाई नपर्खिएर तेस्रोलाई दिएका हौं’, कार्यकारी अध्यक्ष अधिकारीले भने, ‘९० डलर बढी भनेको जहाज छिटो चले तत्कालै पूर्ति गर्न सकिन्छ ।’
लामो समयदेखि जहाज ग्राउन्डेड हुँदा निगमलाई दैनिक घाटा भइरहेको भन्दै जतिसक्दो छिटो जहाज सञ्चालनमा ल्याउने गरी इन्जिनियरहरु लागि परेको उनले बताए ।
कति लाग्छ भाडा ?
एमटीयू मेन्टिनेन्स लेन्स सर्भिससँग निगमले इन्जिन भाडामा लिएबापत दैनिक २ हजार डलर तिर्नुपर्छ । त्योसँगै प्रतिघण्टा (जहाज उडेका बेला) करिब २ सय डलर र साइकल (ल्यान्डिङ) को पनि करिब २ सय डलर नै तिर्नुपर्छ । ३ महिनाका लागि सम्झौता गरेको सो कम्पनीसँग निगमले इन्जिन भाडामा लिएबापत पहिलो महिना करिब ६० हजार डलर तिर्नुपर्छ । त्यसपछि भने जति धेरै उडायो त्यति नै बढी रकम तिर्नुपर्ने हुन्छ ।
कम्पनीसँग सम्झौताको प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ । सम्झौताको एक साता भित्रमा दोहामा इन्जिन पुगिसक्ने र २÷३ दिनभित्र फेरेर जहाज काठमाडौं आई व्यावसायिक उडान सुरु गर्ने जनाएको छ ।
अहिलेकै अवस्थामा सहज रुपमा काम भयो भने १० देखि १५ दिन भित्रमा जहाज काठमाडौं आइसक्ने निगमको दाबी छ ।
निगमको जहाज २०७८ पुस २३ गते कतारको दोहा विमानस्थलमा अवतरण गरिसकेपछि इन्जिन फेल भएको थियो ।