काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थसचिवसँग मधुकुमार मरासिनीसँग मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्नेबारे छलफल गरेका छन् । मरासिनीले सञ्चालक समिति आह्वान गर्न र सञ्चालक समितिले स्वीकृति दिए सार्वजनिक गर्न सुझाव दिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा तयार पार्ने काम सम्पन्न भएकाले सञ्चालक समितिले स्वीकृत दिए आज साँझ प्रस्तुत हुने राष्ट्र बैंक स्रोत बताउँछ ।
अर्थसचिवसँगको छलफलपछि गभर्नर अधिकारीले सञ्चालक समितिको बैठक आह्वान गरेका छन् । मौद्रिक नीतिले लिएको लक्ष्य पूरा गर्नेतर्फ नै राष्ट्र बैंक केन्द्रित रहेकाले अर्धवार्षिक समीक्षामार्फत खासै ठूलो हेरफेर गर्ने स्पेस नरहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
बढ्दो आयातले गर्दा शोधनान्तरघाटा बढदै गएकाले विदेशी विनिमयको सञ्चितिमा आएको गिरावट आएको छ । चालू आर्थिक वर्षको ६ महिनामा शोधनान्तरघाटा बढेर २४१ अर्ब र ६.६ विदेशी मुद्राको सञ्चिति आयात गर्न मात्रै पर्याप्त छ । त्यसैले राष्ट्र बैंक बाह्य क्षेत्र व्यवस्थापनको दबाबमा रहेको छ । यसैगरी अर्धवार्षिक समीक्षामार्फत बैंकिङ प्रणालीमा तरलता अभावको समस्या व्यवस्थापनको अपेक्षा गरिएको छ ।
शोधनान्तरघाटा बढ्दै गएकाले यसलाई कम गर्नका लागि ब्याजदर नीतिमाथि सामान्य हेरफेर हुनसक्ने संभावना छ । यसैगरी ब्याजदर वृद्धिको प्रभावले सेयर बजारमा असर पर्न सक्ने असरलाई ख्याल गर्दै सेयर बजारमा जाने मार्जिन कर्जाको सीमा खुकुलो बनाउने संभावना रहेको छ ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत विदेशी विनिमय सञ्चिति बढाउन रेमिट्यान्सलाई बैंकिङ प्रणालीमा प्रोत्साहित गर्न १ देखि २ प्रतिशत बिन्दुसम्म अतिरिक्त ब्याजदर बढाउने तयारी भएको राष्ट्र बैंक स्रोत बताउँछ ।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले मुद्दती निक्षेपको भन्दा रेमिट्यान्समार्फत प्राप्त हुने निक्षेपमा अतिरिक्त १ प्रतिशत ब्याजदर दिने व्यवस्था गरेको छ । यसैगरी बढ्दो क्रिप्टोकरेन्सी तथा नेटवर्किङ कारोबारलाई निरुत्साहित गर्न केही मौद्रिक उपकरणको प्रयोग हुन सक्ने बताइएको छ ।
यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई नेपालको बैंकिङ प्रणाली विदेशी मुद्रा सिधैं जम्मा गर्न थप प्रत्यासित गर्ने नीतिगत व्यवस्थाको तयारीसमेत भएको बताइएको छ ।