काठमाडौं । सेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कुरेका छन् । केन्द्रीय बैंकले सेयर बजारमैत्री नीति अवलम्बन नगर्दा त्यसको प्रभाव सेयर बजारमा परेको छ ।
अहिले केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत बजारलाई प्रभावित बनाउने नीतिमाथि फेरबदल हुने आशमा सेयर लगानीकर्ता बसेका छन् । त्यही भएर साताको अन्तिम दिन १.९३ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेर २७३२.५२ बिन्दुमा आइपुगेको छ । यसदिन कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । बुधबार ३ अर्ब बढी कारोबार भएकोमा बिहीबार २ अर्ब २७ करोड रुपैयाँ मात्रै कारोबार भएको छ ।
विशेषगरी एमसीसी प्रस्तावका कारण सत्ता गठबन्धनमा खटपट देखिएको छ । गठबन्धनभित्रकै दलहरु सहमतिबिना एमसीसी टेबुल गरिए सरकार छाडेर आन्दोलनमा उत्रिने धम्की दिन थालेका छन् ।
यता, यही एमसीसी बुधबार संसदमा टेबुल गरिने खबरले मंगलबार सेयर बजारमा रौनकता छाएको थियो । विशेषगरी हाइड्रोपावर समूह अधिक चम्किएका थिए । तर, प्रधानमन्त्री देउवा र प्रचण्डबीच तत्काल एमसीसी संसदमा पेश नगर्ने सहमति भएको छ । समग्रमा केही दिनयता राजनीतिक घटनाक्रमहरु अलि अस्थिर बनेका छन् । यस्ता घटनको सेयर बजारमा अल्पकालीन भए पनि प्रभाव हुने गर्छ ।
सोहीअनुसार बिहीबारको बजारलाई यसले असर गरेको विश्लेषकहरु बताउँछन् । सेयर बजार तलमाथि गरिरहन्छ । यो तथ्यलाई आम लगानीकर्ताले भुल्नु हुँदैन । बजार घट्दा होस् वा बढ्दा, लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ ।
यस्तै, सम्बद्ध क्षेत्रमा व्यवसायको अवसर र प्रतिस्पर्धातर्फ पनि ख्याल गर्नुपर्छ । लगानीकर्ताले कुन उद्देश्यले सेयर किन्ने हो ? आफू इन्भेष्टर र कि ट्रेडर भन्नेसमेत ध्यान दिंदै सोही अनुसार रणनीतिहरु तय गर्नुपर्ने हुन्छ । सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्न सके लाभ लिन सकिने अनुभवीहरु बताउँछन् ।
साताको अन्तिम दिन तेह्रथुम पावर कम्पनीको मूल्य सबैभन्दा बढी ६.६४ प्रतिशत बढेको छ । यसैगरी सबैभन्दा बढी मूल्य बुद्धभूमिको ४ प्रतिशतभन्दा बढीले घटेको छ ।