बजारमा फोल्डेबल फोनको लोकप्रियता र माग निकै बढेको छ । २०२१ मा मात्र ७० लाखभन्दा धेरै युनिट फ्लिप तथा फोल्डेबल फोन बिक्री भए ।
टेलिकम मार्केट इन्टेलिजेन्स कम्पनी इन्टरनेसनल डेटा कर्पोरेसनको नयाँ प्रतिवेदनअनुसार २०२० मा १९ लाख युनिट फोल्डेबल तथा फ्लिप फोन बिक्री भएका थिए । २०२० को तुलनामा २०२१ मा उक्त मोडलको बिक्री २६० प्रतिशतले वृद्धि भएको हो । सोही प्रतिवेदनले २०२५ मा २ करोड ७६ लाख फ्लिप फोन बिक्री हुने र सोको बजार मूल्य २९ अर्ब डलर पुग्ने आँकलन गरेको छ ।
आईडीसीका अनुसार २०२५ सम्म यस्तो मोडलको फोनको बजार हिस्सा अहिलेको तुलनामा ३ गुणाले बढ्नेछ ।
सामसङले सर्वाधिक रुचाइएको फोल्डेबल फोन ग्यालेक्सी जेड फ्लिप थ्री अगस्टमा सार्वजनिक गरेपछि निकै चर्चा बटुल्यो । कम्पनीले यसै वर्षान्ततिर जेड फ्लिप फोर र जेड फोल्ड फोर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
सामसङले हालसम्म फोल्डेबल फोनको बिक्री तथ्यांक सार्वजनिक गरेको छैन । तर, २०२१ म यो आँकडा भने ४ गुणाले बढेको उसको भनाइ छ ।
२०२१ को तथ्यांकअनुसार फोल्डेबल फोनको बजार एकदमै सानो थियो । समग्र बजारमा यसको हिस्सा ०.५ प्रतिशत रहेको आईडीसीले देखाएको थियो ।
तर, अहिले कम्पनीले यिनै मोडलमार्फत सेवाग्राहीको ध्यान एप्पल तथा अन्य चर्चित ब्रान्डहरुबाट मोड्न सफल भइरहेको छ ।
सामसङको ट्रेड इन प्रोग्राम र अन्य खुद्रा तथ्यांकका अनुसार अन्य ब्रान्डका स्मार्टफोन छोडेर उसको फोल्डेबल मोडलमा स्विच हुने प्रयोगकर्ताको संख्या १५० प्रतिशतले बढेको छ ।