काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालू आवको हालसम्म १ हजार ८ सय बढी व्यावसायिक फर्मको अनुगमन गरेको छ । विभागले सात महिनाका अवधिमा काठमाडौं उपत्यका लगायतका क्षेत्रका १ हजार ८ सय १९ बढी फर्मको अनुगमन गरेको थियो ।
अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारबाही स्वरुप जरिवाना गर्दा ८९ लाख ८० हजार रूपैयाँ राजस्व सङ्कलन भएको जनाइएको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाही स्वरुप जरिवाना गरिएको विभागका निर्देशन हरि पङ्गेनीले जानकारी दिए ।
उनले सामान्य गल्ती गर्ने फर्मलाई एक पटक सुधारको मौकासमेत दिइने गरिएको जानकारी दिए । सात महिनाका अवधिमा विभागले ८ सय ६३ फर्मलाई जरिवाना, ८ सय २३ फर्मलाई सामान्य सुधार गर्न निर्देशन दिइएको थियो । यस्तै, १६ फर्मबाट परीक्षण गर्न बस्तुको नमुना सङ्कलन, साधनसहित तीन प्रक्राउ र १२ फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको थियो ।
यस्तैगरी उक्त अवधिमा विभागले खान अयोग्य वा म्याद सकिएकोले रु २८ लाख ५५ हजार ३ सय १८ बराबरको बस्तु तत्कालै नष्ट गर्न लगाइएको थियो । विभागले सात महिनाको अवधिमा सबैभन्दा धेरै फार्मेसी पसलको अनुगमन भएको जनाएको छ । तथ्याङ्कअनुसार उक्त अवधिमा १०६ फार्मेसी पसलको अनुगमन गरिएकामा ३३ वटालाई कारबाहीस्वरुप जरिवाना गरिएको थियो ।
यस्तै, ५ सय ३१ खाद्यान्न तथा किराना, १ सय ५६ कस्मेटिक तथा कपडा पसल, ८ स्टेसनरी पसल, ४८ अण्डा तथा मासु पसल, २८ मार्ट, २७ मदिरा तथा पेय पदार्थ, ५५ फलफूल तथा तरकारी पसल, ४९ दुग्धजन्य पदार्थ तथा बेकरी र ७ सय ५४ अन्य उद्योगको अनुगमन गरिएको थियो ।
विभागले नियमित रुपमा खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी पलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाइ तथा इलोक्ट्रोनिक्सलगायतका पसलको अनुगमन गर्दै आएको छ ।
अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई ५ हजार रूपैयाँदेखि ३ लाखसम्म जरिवाना गरिएको विभागले जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ ।