काठमाडौं । सेयर बजारका लागि अहिले अनुकूल समय छैन । लगानीकर्तालाई बैंकले सेयर किन्न पैसा दिन पूर्णरूपले बन्द गरेको छ ।
बैंकहरूकाे निक्षेपको ब्याजदर सेयर बजारबाट आउने वार्षिक प्रतिफलभन्दा बढी हुन थालिसकेको छ । यस्तो अवस्थामा पनि लगानीकर्ता सेयर बजार हरियो बनाउन लागिपरेका छन् ।
केन्द्रीय बैंकले सेयर कर्जामा निरन्तर निगरानी गरिरहेको छ । अर्थ मन्त्रालयले पनि सेयर कर्जा नदिन केन्द्रीय बैंकलाई भनिरहेको छ । बजारमा लगानीयोग्य रकमको चरम अभाव छ । त्यही भएर बैंकहरूले बजारबाट निक्षेप बढाउन सकिन्छ कि भनेर ११ प्रतिशतभन्दा बढी ब्याजमा निक्षेप उठाइरहेका छन् ।
केही लगानीकर्ताले यही मौका छोपेर नाफा रहेको स्टक बेचेर बैंकमा निक्षेप जम्मा गर्ने दाउ कुरेर बसेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीमध्ये धेरैले १० प्रतिशत पनि प्रतिफल दिन सकेका छैनन् । सेयर बेचेर मुद्धति निक्षेपमा पैसा राख्ने हो भने अहिले ११.०३ प्रतिशत ब्याज आइरहन्छ । यिनै कारणले बजार पेनिक हुने हो । तर, लगानीकर्ताहरू कसरी बजार बढाउन सकिन्छ भनेर अनेक बहाना खोजिरहेका छन् ।
सेयर बजारप्रति लगानीकर्ताबाहेक कोही पनि पोजेटिभ छैनन् । यसबाट राज्यले गतवर्ष मात्रै १८ अर्ब रुपैयाँ क्यापिटल गेन ट्याक्स उठाएको थियो । राज्यले सेयर बजारलाई राजस्वको प्रमुख स्रोत बनाउने बताए पनि नीतिगत तहमा सुधार नगर्दा यो वर्ष राज्यले नगन्य मात्रामा मात्रै राजस्व पाउने सम्भावना छ ।
मंगलबार एकाएक नाटकीय रूपमा वृद्धि देखिएको सूचक बुधबार १९.४८ अंकले घटेर २७३४.४४ बिन्दुमा राेकिएकाे छ । यस दिन कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । बुधबार ३ अर्ब हाराहारी मात्रै कारोबार भएको छ । जबकि, मंगलबार साढे ३ अर्ब कारोबार भएको थियो । दिन-प्रतिदिन कारोबार रकममा गिरावट आउनु राम्रो मानिँदैन ।
सरकारले निर्वाचनको घोषणा गरेपछि बजारमा त्यसको सकारात्मक असर देखिएको छ । त्यसै गरी, एमसीसी पास हुने संकेत देखिपछि त्यसले पनि बजारमा पोजेटिभ सञ्चार गरेको थियो ।
तर, बुधबार संसदमा एमसीसी टेबल हुन सकेन । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाएपछि चुनाव नहुने आंशका बढेको छ । त्यसले पनि बजारलाई थप पेनिक बनाएको हो ।