काठमाडौं । ग्लोबल आईएमई बैंकले ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, रुपन्देहीको भवानीपुर एवम् उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै शाखारहित बैंकिङ सेवा संख्या २ सय ७४ पुगेको बैंकले जानकारी दिएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिनसक्ने बैंकको दाबी छ ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्म रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने, होम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिनसक्ने बैंकले जनाएको छ ।
ग्लोबल आईएमई बैंकले ७६ जिल्लामा २ सय ८७ शाखा, २ सय ५२ एटीएम, २ सय ७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरबाट बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।