चियाको लोकप्रियता हरेक घरमा छ । हामीहरूमध्येको धेरैको दिनको सुरुवात चियाबाटै हुन्छ । साथीभाइ भेटघाट गर्नुपर्दा पनि ‘चिया खाऊँ’ भनिन्छ । अर्थात् चिया हाम्रो संस्कारजस्तै बनिसकेको छ ।
सामान्यतया नेपाली बजारमा १००० रुपैयाँ प्रतिकिलो किन्न पाइन्छ चिया ।
तर, हालसालै आसामको गुवाहाटीमा एउटा यस्तो चियापत्तिको लिलामी भएको छ जसको मूल्य सुन्दा पत्यार नै नलाग्न सक्छ । उक्त चियाका लागि झन्डै १ लाख ६० हजार रुपैयाँको बोली लागेको छ । भारतमा अहिलेसम्मकै महँगो मूल्य भएको बताइएको छ ।
यो चियाको नाम ‘गोल्डन पर्ल चियापत्ति’ हो ।
मनोहरी गोल्डमा पनि लाग्यो बोली
आसामको डिब्रुगढको स्पेसल चिया हो, मनोहरी गोल्ड । यसका लागि आसाम टी ट्रेडर्सले डेढ लाखको बोली लगाएको हो । यसलाई आसामको हाई स्पेसियल्टी टीको सबभन्दा ठूलो खरिदकर्ताको रुपमा लिइन्छ ।
यो लिलामीमा थुप्रै चिया कम्पनीहरुले भाग लिएका थिए । तर, गोल्डन पर्ल टीमा सर्वाधिक बोली लागेको थियो ।
दुई महिनाअघि अर्थात् १४ डिसेम्बर २०२१ मा गुवाहाटीको टी अक्सन सेन्टरमा मनोहरी टी स्टेटबाट मनोहारी गोल्ड चियालाई डेढ लाखकै बोली लागेको थियो ।
डिब्रुगढमा तयार
गोल्डन पर्ल टीको स्वामित्व एएफटी ट्रेडमा छ । जीटीएसीका सेक्रेटरी प्रियानुज दत्ताले भारतीय न्युज एजेन्सी पीटीआईलाई पर्ल टी डिब्रुगढ जिल्लाको नाहोरचुकबारी फ्याक्ट्रीमा तयार भएको बताएका छन् । उनका अनुसार गोल्डन पर्ल टीको लिलामीमा सेल नम्बर ७ र लट नम्बर ५००१ मा पेस गरिएको थियो ।
किन लाग्छ बोली ?
उच्च क्वालिटीको चियापत्तिअनुसारको मूल्य दिलाउन चियापत्तिमा बोली लगाउने गरिन्छ । विश्वभरमा कैयौं टी अक्सन सेन्टर छन् । ती सेन्टरहरुमा चियाका लागि बोली लाग्ने गर्छ । लिलामीका लागि चिया कम्पनीहरुले स्याम्पल पठाउँछन् । र, तिनलाई जाँचिन्छ र उत्कृष्ट चियाको निर्णय हुन्छ ।