काठमाडौं । निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको काम ८५ प्रतिशत सकिएको छ । अब १५ प्रतिशत काम मात्र बाँकी छ । आयोजनाको विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम धमाधम भइरहेको छ ।
अहिले विद्युतगृहमा ३ वटा फ्रेन्सिस टर्वाइन जडान भइरहेको विकासकर्ता रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले जनाएको छ । सिभिल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनको काम एकसाथ अघि बढीरहेको रसुवागढीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छवि गैरेले बताए । सीईओ गैरेका अनुसार सिभिलको काम ९३ प्रतिशत सकिएको छ ।
यस्तै उनले आउँदो असार ११ गतेदेखि बिजुली उत्पादन गर्ने लक्ष्य लिएको सुनाए । भारतीय कम्पनी भोइथ इन्डिया लिमिटेडले इलेक्ट्रोमेकानिकलको काम ढिलाे सुरु गरेकाले संशोधित तालिकाभन्दा १/२ महिना तलमाथि हुन सक्ने संभावना रहेको सीईओ गैरेको भनाइ छ ।
‘नयाँ कार्यतालिकाभन्दा ढिलो काम सुरु भएकाले केही महिना पर सर्न सक्छ । हाम्रो योजना असारभित्रै बिजुली बाल्ने हो’ उनले भने ।
कोरोना महामारी, बाढी र डलरको मूल्यवृद्धिले आयोजनाको लागत बढेर १६ अर्ब ७४ करोड ९३ लाख रुपैयाँ पुगेको कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेख छ । यो लागत निर्माण अवधिको ब्याजबाहेकको रकम हो ।
२०७२ वैशाखमा गएको विनाशकारी भूकम्प, त्यसपछिको नाकाबन्दी, बाढीका साथै कोरोना महामारीको पहिलो र दोस्रो लहर तथा डलरको मूल्य बढेपछि काबुबाहिरको अवस्थाका कारण लागत बढेको आयोजनाले जनाएको छ ।
यसअघि नेपाल विद्युत प्राधिकरणसँग बिजुली खरिदबिक्री सम्झौता (पीपीए) गर्दा निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँलाई आधार मानेर कर्मचारी सञ्चय कोषबाट ऋण लगानी र सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिएको थियो । २०७८ असारमा सकिने अनुमानका आधारमा यो लगात रकम थप हुने भएको हो ।
आयोजनाको काम सुरु नहुँदै लागत पुनरावलोकन भई १५ अर्ब ३७ करोड रुपैयाँ पुगेको उनले सुनाए । सञ्चय कोषले आयोजनासँग ९.७५ प्रतिशत ब्याज लिँदै आएको छ । प्रत्येक ३ महिनामा ब्याज साँवामा पुँजीकरण हुँदै आएको कम्पनीले जनाएको छ ।
२०७८ असारमा बिजुली उत्पादनको लक्ष्य तय भएको थियो । विभिन्न कारणले गर्दा एक वर्ष ढिला हुन गएको कम्पनीले जानकारी गराएको हो । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट बिजुली उत्पादन हुनेछ ।
विद्युत् बिक्रीबाट रसुवागढी हाइड्रोपावरले वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने छ । कम्पनीको चुक्ता पुँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेको छ ।
सन् २०१४ देखि निर्माण सुरु भएको रसुवागढी आयोजनाको ४ हजार १८५ मिटर सुरुङ २०७६ साल भदौ ४ गतेदेखि तयार भइसकेको छ ।
प्रतिसेकेन्ड ८० घनमिटर पानीको बहाव थेग्ने क्षमताका ३ वटा फ्रान्सिस टर्वाइनसहित सुरुङलगायतका अन्य संरचना निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई) रहेको छ । यस्तै आयोजनाको भूमिगत संरचनाअन्तर्गत मुहानतर्फ बाँध बाँध्ने कार्य पनि प्रायः पूरा भएको छ ।
यसअघि २०७६ फागुन ७ गते आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । महामारीले गर्दा बढाएर आउँदो असारसम्म कार्यतालिका तयार पारिएको थियो ।
रसुवागढी आयोजनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ । नदीको बहावमा आधारित (आरओआर) आयोजनामा ३८ मेगावाट क्षमताका ३ वटा टर्वाइन जडान हुने छन ।
रसुवागढी आयोजनाले अब प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न बाँकी छ ।
आयोजना नेपाल चीन सीमानजिक रसुवागढीमा पर्छ ।