काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा ८ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको ८ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गरेको हो ।
कम्पनीले निष्कासन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । जारी पुँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता साधारण सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने ७ लाख ९४ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।
निष्काशित सेयरमा सर्वसाधारणले यही फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । तोकिएको अवधिसम्म मागबमोजिम आवेदन नआए फागुन १८ गतेसम्म शेयर निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्बा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीको हाल चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँ रहेकामा सर्वसाधारणलाई खरिदका लागि खुला गरेको सेयरको बाँडफाँडपश्चात चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्नेछ ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ ।
रेटिङअनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।