काठमाडौं । नेपाली कांग्रेसले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई सङ्घीय संसद्मा अनुमोदनका लागि प्रस्तुत गर्नु सरकारको कर्तव्य भएको जनाएको छ ।
हाल सरकारको नेतृत्व गर्ने कांग्रेस र सत्ता गठनबन्धनमा रहेका सबै राजनीतिक दलहरु एमसीसी प्रक्रियाको विभिन्न कालखण्डमा प्रत्यक्ष संलग्न भएको उल्लेख गर्दै कांग्रेसले पछिल्लो सरकारले सुरुआत गरेको प्रक्रियालाई अघि बढाउने जिम्मेवारी रहेका कारण एमसीसी सम्झौतालाई सङ्घीय संसद्मा अनुमोदनका लागि सरकारले अविलम्ब प्रस्तुत गर्नुपर्ने जनाएको हो ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज सम्पन्न बैठकले नेपालमा एमसीसीअन्तर्गतको अनुदान सहायता प्राप्त भएको र त्यसलाई संसद्बाट अनुमोदन गराउने निर्णय पनि यस प्रक्रियामा संलग्न सबै राजनीतिक दलको भएको ठहर गरेको छ ।
सम्झौताका हस्ताक्षर र संसद्मा प्रस्तुत हुनुपूर्व प्रशस्त समय र माध्यम हुँदा पनि त्यसको प्रयोग नगरी अन्तिम समयमा अपनत्व स्वीकार नगर्नुले राजनीतिक नियत र जवाफदेहितामा नै प्रश्न उठ्ने कांग्रेसको ठहर रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
“संसद्बाटै सङ्कल्प र सहमति गरेर एमसीसी सम्झौता राष्ट्रिय हित अनुकूल छ भन्ने कुरामा आमजनतालाई आश्वस्त बनाउँदै यसको कार्यान्वयन प्रक्रियामा लैजानुपर्दछ, राष्ट्रिय हित, परराष्ट्र नीति, हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता र कूटनीतिक साखलाई नै कमजोर बनाउँछ भन्ने कांग्रेसको स्पष्ट धारणा छ”, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको यो संवेदनशील विषय तथा आम चासो र सरोकारको विषय जनप्रतिनिधि संस्था सार्वभौम संसद्मा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न नमिल्ने पार्टीले जनाएको छ । यो संवेदनशीलतालाई बुझेर तत्काल यो विषयलाई संसद्को एजेण्डा बनाउनु सभामुखको जिम्मेवारी भएको कांग्रेसको भनाइ छ ।
एमसीसी सम्झौतामा सन्दर्भमा तथ्यहीन ढङ्गबाट भएका बहसले आमजनतालाई भ्रमित र यो विषयलाई अतिरञ्जित बनाउँदै गएको कांग्रेसको ठहर छ । यसले नेपाली समाज र राजनीतिलाई अनावश्यक भू–राजनीतिक ध्रुवीकरणतर्फ धकेल्न लागेकामा कांग्रेसले चिन्ता व्यक्त गर्दै यस संवेदनशील विषयमा ऐतिहासिक तथ्य र प्रक्रियामा टेकेर, बुझेर आफ्नो धारणा बनाउन र बहकाउमा नलाग्न आम जनसमुदाय, सचेत नागरिक समाज र सञ्चार जगत्मा कांग्रेसले अपील गरेको छ । रासस