काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनको लागि नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) र सिंगापुर स्थित सुरबाना जुरोङ समूहको सदस्य स्मेक इन्टरनेशनल प्राइभेट लिमिटेडबीच मंगलबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
निफ्राका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले आ–आफ्नो कम्पनीको प्रतिनिधित्व गर्दै निफ्राको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त एमओयूमा हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा निफ्राका उच्च व्यवस्थापनक पदाधिकारीहरु सहित पाँचखाल नगरपालिकाका प्रवक्ता संजय लामाको उपस्थिति रहेको थियो ।
समझदारी पत्रअनुसार, सिंगापुरस्थित ग्लोबल शहरी पूर्वाधार परामर्श फर्म सुरबाना जुरोङ समूहको सदस्य एसएमईसीले प्रस्तावित स्मार्ट सिटीको निर्माण गर्न आवश्यक हुने प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रिय सफल अभ्यासहरु अध्ययन विश्लेषण सम्बन्धि कार्यहरुमा सहकार्य गर्नेछ ।
निफ्राले सहकार्यका दौरान एसजेलाई आवश्यक सहजीकरण गर्नेछ । स्मार्टसिटी विकासका लागि अन्य सरोकारवालाहरूसँगको समन्वयमा निफ्राको अगुवाईमा आवश्यक लगानी जुटाउने कार्य हुने छ ।
पाँचखाल नगरपालिकाले नगरपालिकाका जग्गाधनीसँगको समन्वयमा जग्गा प्राप्ति गर्न आवश्यक सहजीकरण र सहकार्य गर्ने छ । यस प्रकारको नेपालकै पहिलो परियोजना पाँचखाल स्मार्ट सिटीले करिब ५ हजार ५०० रोपनी क्षेत्रफल ओगटने छ । स्मार्ट सिटीको विकासका लागि निफ्राले पाँचखाल नगरपालिकासँग छुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।
यो कार्यका लागि बजारको अध्यन निफ्राले अमेरिकास्थित परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्ट्स प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । उक्त कम्पनीले सो कार्य आव कोआठ हप्ता भित्र समपन्न गरिे प्रतिवेदन पेश गर्ने तय भएको छ ।