काठमाडौं । मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा पुगेका यात्रुहरुलाई प्रहरीले प्रिन्टेड टिकट अनिवार्य भएको सूचना प्रवाह गर्याे । विभिन्न गन्तव्यका लागि मोबाइलमा डिजिटल टिकट लिएर पुगेका यात्रुहरुलाई प्रिन्टेड टिकट नै अनिवार्य चाहिन्छ भनेपछि अधिकांश यात्रु समस्यामा परे । सोमबारसम्म डिजिटल टिकट मार्फत नै यात्रा गरेका यात्रुहरु मात्र हैन, डिजिटल टिकट काटेका एयरलाइन्सका कर्मचारीहरु पनि प्रहरीको नयाँ सर्कुलरपछि चकित परे ।
प्रहरीको जिद्दीपछि विमानस्थलमा रहेका सम्बन्धित एयरलाइन्स कार्यालयमा टिकट काट्नेको भीड नै लाग्यो । समय डिजिटल प्रविधिमय बनेका बेला विमानस्थल सुरक्षाको जिम्मा पाएको प्रहरीले भने सुरक्षाको कारण देखाउँदै पुरानै ढर्रालाई निरन्तरता दिएर यात्रुलाई अनावश्यक दुःख दिन सुरु गरेको भन्दै विरोध हुन थालेको छ ।
पछिल्लो केही वर्षदेखि नै आन्तरिक उडान भर्ने एयरलाइन्सले विभिन्न वालेटहरु र एप्समार्फत डिजिटल भुक्तानी गरी डिजिटल टिकट काट्दै आएका छन् । यात्रुको समयलाई ख्याल गर्दै टिकट काट्न काउन्टरसम्म पुग्न नपर्ने गरी डिजिटल टिकटको व्यवस्था लागू भइरहेका बेला एक्कासि विमानस्थल प्रहरीले नयाँ नियम लागू गरेको हो ।
एक साताअघि विमानस्थलमा सरुवा भएर गएका एसएसपी भीम ढकालले मंगलबारबाट आन्तरिक विमानस्थलमा यात्रा गर्ने यात्रुहरुका लागि नयाँ नियम जारी गराएका हुन् । उनको यो निर्णयले हजारौं यात्रुहरुले दुःख पाइरहेका छन् । झन् पछिल्लो समय कोभिड संक्रमण देखिएसँगै विमानस्थलभित्र पनि डिजिटल प्रविधि लागू भइरहँदा एसएसपी ढकालले भने प्रिन्टेड टिकट अनिवार्य गराएपछि उनको यो निर्णय विवादमा परेको हो ।
सुरक्षाका कारण टिकट प्रिन्टेड नै ल्याउन भनिए पनि त्यहाँस्थित एयरलाइन्सहरुले भने नयाँ एसएसपीले दुःख दिने नियतका साथ यो निर्णय गरेको आरोप लगाउँदै आएका छन् । ‘संसारभर नभएको नियम हाम्रै विमानस्थलमा लागू हुन्छ’, वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीले भने, ‘यो यात्रु र एयरलाइन्सलाई दुःख दिने नियत हो, तत्कालै खारेज हुनुपर्छ ।’
प्रहरीले ल्याएको नयाँ नियमको विषयमा संघले पनि आधिकारिक धारणा सार्वजनिक गर्न बैठक बस्न लागेको जानकारी दिए । यस्तै उनले यो निर्णय फिर्ता हुनुपर्नेसमेत बताए ।
प्रविधिको प्रयोग गर्दै अझ छिटो–छरितो तरिकाले सेवा दिने व्यवस्था गर्नुपर्नेमा उल्टै प्रहरीले प्रिन्ट टिकटको नाउँमा दुःख दिन लागेको एक यात्रुको भनाइ छ । ‘एयरलाइन्स कम्पनीहरु र प्रहरीबीचमा के कुरा मिलने अनि हामीलाई दुःख दिन खोजिएको हो’, अर्का एक यात्रुले भने, ‘प्रविधिमा प्रहरी भिज्न नसकेकोमा अच्चमित छु’ ।
विमानस्थल एउटा प्रतिनिधि उदाहरण मात्र हो । यस्ता अन्य क्षेत्रमा पनि प्रहरी प्रमुख फेरिसँगै उनीहरुले नयाँनयाँ नियम ल्याउने गरेका छन् । आफ्नो प्रभाव जमाउन र अधीनमा राख्नका लागि ती प्रहरी प्रमुखहरुले सुरक्षा जाँचको नाउँमा अनेकन दुःखसमेत दिँदै आएका छन् ।
विमानस्थलमा पनि एक सातादेखि प्रहरीले विभिन्न बहनामा एयरलाइन्सका कर्मचारीहरुलाई दुःख दिँदै आएको गुनासो बढिरहेको छ । सोबारे बुझ्न खोज्दा एसएसपी ढकालसँग सम्पर्क हुन सकेन ।
डिजिटल टिकटले पनि हवाई यात्रा गर्न पाइन्छः विमानस्थल कार्यालय
प्रहरीले प्रिन्टेड टिकट अनिवार्य गराए पनि विमानस्थल कार्यालयले भने डिजिटल वा प्रिन्ट जुनसुकै टिकटले पनि यात्रा गर्न सकिने बताएको छ ।
मंगलबार एक सूचना जारी गर्दै सम्पूर्ण विवरण खुल्ने डिजिटल वा प्रिन्टेड जुनसुकै टिकट भए पनि हुने जनाएको छ ।
यस्तै पिएनआर नम्बर मात्रै लिएर भने विमानस्थल प्रवेश गर्न नपाउने जनाएको छ।