काठमाडौं । आइतबार १०० अंकले घटेको बजार सूचक साताको तेस्रो दिन मंगलबार ५३.३ अंकले बढेर २७५४.२८ बिन्दुमा चढेको छ । सोमबार स्थिर देखिएको बजारले लगानीकर्तालाई तताउन खोजेको देखिन्छ । यद्यपि, कारोबार रकमले भने साथ दिइरहेको छैन । आइतबार घटेको बजारमा करिब ६ अर्बको कारोबार हुँदा सोमबार भने साढे ३ अर्बमै सीमित भएको थियो । मंगलबार पनि ३ अर्ब २३ करोड रुपैयाँमा खुम्चिएको छ ।
सोमबार २७०० बिन्दुमै रहेको सूचक मंगलबार कारोबार सुरु हुँदादेखि नै सकारात्मक संकेत देखाएको थियो । पहिलो १५ मिनेटभित्र २७२० मा चढेको सूचक त्यसपछि ओरालो लाग्यो । झर्दा पनि सोमबारको बिन्दूलाई भने छोएन । यद्यपि, करिब २ बजेसम्म बजार स्थिर जस्तै देखियो ।
त्यसपछिको एक घण्टामा बजारले छलाङ मार्यो । तथापि, यसरी वृद्धि हुनुको सतहमा कुनै कारण देखिँदैन । आइतबार बजार घट्दा पनि त्यस्तो खास कारण थिएन। तर, बढ्दो ब्याजदर र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोग कारण बन्यो ।
मंगलबार नेपाली कांग्रेसको संसदीय दलले एमसीसी कम्प्याक्ट पारित गर्ने निर्णय मंगलबार बिहान सत्तारुढ घटकका शीर्ष नेताबीचको वार्ता र प्रमुख प्रतिपक्षले तत्कालै अप्रिय कदम नचाल्ने संकेत देखाएपछि बजारमा सकारात्मक प्रभाव परेको हो ।
परिस्थितिले नयाँ मोड नल्याएमा बुधबार र बिहीबार बजारले सकारात्मक गति लिन सक्छ । मंगलबार जलविद्युत् समूहमा उच्चवृद्धि देखिएको छ । ४.३२ प्रतिशतले बढेको जलविद्युत् समूहमा न्यादी हाइड्रको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उच्च १० मूल्यवृद्धि भएका कम्पनीमध्ये ७ वटा जलविद्युत् समूहका छन् भने २ लघुवित्त र एउटा विकास बैंक छ ।
मंगलबार ऋणपत्र र म्युचुअल फण्ड बाहेक १७९ कम्पनीको मूल्य बढ्दा ७ कम्पनीको मूल्य सामान्य घटेको छ । मंगलबार हिमालयन डिष्ट्रिलरीको सबैभन्दा धेरै २२ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारले तीव्र उतार चढावको संकेत देखाइरहेकाले लगानीकर्ता संयमित बन्न आवश्यक छ । ससाना कारणलाई देखाएर बजार घटाउने र बढाउने प्रपञ्च जहिले पनि भइरहन्छ ।
खासगरी, थोरै सेयर सूचीकृत भएका कम्पनीहरुलाई पुलिङ/कर्नरिङ गर्ने, बजारमा विभिन्न अफवाह फैल्याउने र त्यसैका आधारमा सकारात्मक वा नकारात्मक धारणा सिर्जना गराई समग्र बजारलाई प्रभावित बनाउने परिवेश निर्माण गरिन्छ र आफूअनुकूल बजारलाई चलाउने प्रवृत्ति हाबी छ । समीक्षाकाे तरखरमा रहेकाे माैद्रिक नीतिलाइ पनि देखाएर बजार चलामान बनाउने काेसिस केही दिन हुन सक्छ । यस्तोमा सामान्य लगानीकर्ता चनाखो हुनपर्छ ।