लमजुङ । कोरोनाका कारण सुनसान बनेको अन्नपूर्ण पदमार्गमा पर्यटक देखिन थालेका छन् । चिसो मौसम र महामारी कम हुँदै गएपछि सो पदमार्गमा पर्यटक आउन थालेका हुन् ।
पर्यटक देखिन थालेपछि केही आशा पलाएको व्यवसायीले जनाएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार करिब एक हप्तादेखि दैनिक पाँच छ विदेशी पर्यटक आगमन हुन थालेको छ ।
उनले भने, “महामारी हुनभन्दा अघिका वर्षमा दैनिक एक हजार जनासम्म पनि पर्यटक आउने गरेका थिए । कोरोना सङ्क्रमण हट्दै गएको र पर्यटक आउने याम आजदेखि अर्थात् फेब्रुअरी १५ देखि रहेकाले पर्यटक वृद्धि हुँदै पुरानै लयमा आउने अपेक्षा रहेको छ ।”
पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले पदमार्गमा पर्यटक देखिन थालेसँगै यस क्षेत्र पुनः पुरानै लयमा आउने आशा पलाएको बताउनुभयो । पर्यटक आगमन हुँदा दैनिक ३०/३५ हजारभन्दा बढीको आम्दानी हुने गरेको उनले सुनाए ।
कोरोना सङ्क्रमणको जोखिम न्यून हुँदै र गर्मी बढ्न थालेसँगै पर्यटक आगमनको चाप बढ्ने र आम्दानी गरेर परिवारको दैनिकीसमेत चलाउने अर्का पर्यटन व्यवसायी खुसबहादुर गुरुङले बताए । यस पदमार्ग आसपासमा पर्यटन व्यवसायही गर्नेहरु करिब ३ हजार ५०० रहेको र अधिकांशले पर्यटन क्षेत्रबाटै घरपरिवारको गुजारा चलाउने गरेको उनको भनाइ छ ।
पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी ५ जिल्ला जोडिएको छ ।
यस पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीशहर नगरपालिका–७ मनाङे चौतारामा रहेको छ । केही समयअघि हिमपात भए पनि पदमार्ग अवरुद्ध नभएको बताइएको छ । यस पदमार्गमा सन् २०२१ मा २ हजार ३ सय ७३ पर्यटक आएका थिए । त्यस्तै, सन् २०२० मा एक हजार ९७६ जना पर्यटक आएको उक्त केन्द्रले जनाएको छ ।
साे वर्षमा पहिलो र दोस्रो कोरोना सङ्क्रमणका कारण न्यून पर्यटक आएका थिए । तर कोरोना लहर आउनुभन्दा अघि सन् २०१९ मा ३६ हजार ६ सय ४७ जना, सन् २०१८ मा २९ हजार ४ सय ८४ जना, सन् २०१७ मा २१ हजार ६८ जना पर्यटक आएको साे केन्द्रको तथ्याङ्कमा उल्लेख छ । कोरोना प्रभावका कारण पर्यटक आगमन सङ्ख्या ह्यात्तै घटेको भए पनि अब पुनः पुरानै लयमा पुग्ने अपेक्षा पर्यटन व्यवसायीको छ । रासस