पोखरा । पर्यटन व्यवसायलाई प्रविधिमैत्री बनाउनका लागि पोखराका महिला पर्यटन व्यवसायीलाई डिजिटल अनलाइनसम्बन्धी तालिम प्रदान गरिएको छ । महिला पर्यटन व्यवसायी महिला मञ्च (ओटेफ)को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धनमा संघमा आबद्ध सदस्यलाई डिजिटल मार्केटिङ तालिम प्रदान गरिएको हो ।
तालिमको समापन समारोहमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले प्रविधिमैत्री व्यवसाय अहिलेको आवश्यकता भएको जनाउँदै प्रविधिको सही प्रयोगबाट व्यवसायलाई प्रवर्द्धन गर्न सकिने धारणा राखे ।
उनले पछिल्लो समय अधिकांश पाहुनाले सोसल साइटको प्रयोग गर्ने भएकाले त्यसबारे व्यवसायीले आफ्नो सेवा सुविधालगायतका विषयमा जानकारी दिन सके व्यवसाय प्रबद्र्धन हुँदै जाने बताए ।
उनले वर्तमान अवस्थामा अधिकांशको हातमै भइराख्ने मोबाइल एपको प्रयोगबाट संसार भर व्यवसायका बारेमा जानकारी दिन सकिने र तालिमपश्चात् व्यवसायी महिलाले सामाजिक सञ्जालको प्रयोगबाट आफ्नो व्यवसायलाई मार्केटिङ गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।
पोखरा होटल संघ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्रमा डिजिटल मार्केटिङसम्बन्धी तालीम अपरिहार्य हुँदै गएको र घरमै बसेर प्रविधिको प्रयोगबाट विश्वव्यापी रूपमा व्यवसाय प्रबद्र्धनका लागि सघाउ पुग्ने बताए ।
नेपाल एसोसिएसन टुर्र एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले सहि समयमा सहि निर्णयको आवश्यता औंल्याउँदै समयानुकूल व्यवसायका लागि डिजिटल मार्केटिङको आवश्यकता माथि जोड दिए ।
संस्थाका अध्यक्ष पार्वती पाण्डेले व्यवसायी महिलाको नेतृत्व व्यक्तित्व विकासका कार्यक्रमसँगै व्यावसायिक क्षमता विकासका लागि प्रविधि मैत्री तालिमको आवश्यकता महसुुस गरी तालिम प्रदान गरिएको बताए । उनले प्रतिस्पर्धाको युगमा गुणस्तर सेवा प्रवाहका लागि प्रविधिको उच्चतम र सहि प्रयोगको आवश्यकता र खाँचो औंल्याए ।
दुई दिने सो तालीममा प्रशिक्षक पारस देवकोटा र उज्जल पौडेले डिजिटल मार्केटिङका सैद्धान्तिक र व्यावहारिक प्रयोगका बारेमा प्रशिक्षण दिएकोे महासचिव ममता न्यौपानाले जानकारी दिए ।
तालिममा सहभागि विष्णु गुरुङ एकता, माया सुवेदी र लक्ष्मी सुवेदीले तालिमको अनुभव सुनाउँदै प्रविधिको युगमा व्यवसायलाई प्रविधिमैत्री बनाएर लैजानको लागि तालिम निकै फलदायी बनेको धारणा राखेका थिए ।
संस्थाका सचिव एवं कार्यक्रम संयोजक शर्मिला न्यौपानेले प्रविधिको सही प्रयोगबाट व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा संस्थाका ५० जना व्यवसायी महिलाको तालिम प्रदान गरिएको जानकारी दिए ।