काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाको खर्च १६ प्रतिशत मात्रै भएको छ । राष्ट्रिय गौरवका आयोजनाका लागि विजनयोजन भएको रकममध्ये पुस मसान्तसम्म १३ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ मात्रै खर्च भएको हो । चालू आर्थिक वर्षका लागि ८२ अर्ब २४ करोड ४४ लाख रुपैयाँ विनियोजन भएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले ढिला गरी प्रतिस्थापन बजेट आएको तर अर्धवार्षिक समीक्षा छिट्टै भएकाले सोचेअनुरुप खर्च हुन नसकेको बताए ।
चालू आवमा खर्च तथा प्रगति कम हुनुमा प्रतिस्थापन बजेट मुख्य दोषी रहेको उनको भनाइ छ । ‘यसपालि प्रतिस्थापन बजेटले ६ महिनामा प्रगति कम देखिएको हो, बजेट नै असोजमा आएकाले प्रगति हासिल हुन सकेन’, उनले भने । राष्ट्रिय गौरवका आयोजनामध्ये माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम पूरा भइसकेको छ ।
मेलम्ची खानेपानी आयोजना
२०५५ बाट निर्माण सुरु भएर लगभग सम्पन्न भएको मेलम्ची खानेपानी आयोजनामा बाढीले क्षति पुगेपछि पुनर्निर्माण सुरु भएको छ । हालसम्म मेलम्चीमा ३१ अर्ब ७ करोड १६ लाख रुपैयाँ खर्च भइसकेको छ । गत असर र साउनमा मेलम्ची खोलामा गएको बाढीले क्षति पुगेपछि अस्थायी रुपमा पुनर्निर्माण सुरु भए पनि स्थायी रुपमा निर्माण सम्पन्न हुने समय निश्चित हुन सकेको छैन ।
मेलम्चीका लागि चालू आवमा मात्रै १ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ विनियोजन भएकोमा पुस मसान्तसम्म १५ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ ।
मेलम्चीको निर्माण गर्दा पटक–पटक म्याद थप, ठेकेदार परिवर्तनलगायत कारणले निर्माण सम्पन्न हुन लामो समय लागेको थियो । यद्यपि अन्तिम चरणमा पुगेको भए पनि सरकारले मेलम्चीलाई हालसम्म निर्माण सम्पन्न भएको घोषण गर्न सकेको छैन ।
पुष्पलाल मध्य पहाडी राजमार्ग
आव २०६४/०६५ बाट निर्माण कार्य सुरु भएको पुष्पलाल मध्यपहाडी राजमार्गको प्रारम्भिक लागत अनुमान ३३ अर्ब ३६ करोड रुपैयाँ रहेकोमा हाल संशोधन भएर १ खर्ब १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
चालू आवमा ८ अर्ब १३ करोड ३३ लाख बजेट विनियोजन भएकोमा पुस मसान्तसम्म १ अर्ब ९६ करोड ४६ लाख रुपैयाँ खर्च भएको छ ।
हुलाकी राजमार्ग
त्यस्तै हुलाकी राजमार्गमा ६ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ विनियोजन भएकोमा २ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ खर्च भएको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ ।
रेल मेट्रो रेल तथा मोनोरेल
रेल मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाका लागि ६ अर्ब ५३ करोड २५ लाख विनियोजन भएकोमा ९५ करोड ६२ लाख रुपैयाँ खर्च भएको छ ।
काठमाडौं तराई मधेस द्रुतमार्ग
काठमाडौं तराई मधेस द्रुतमार्गका लागि ८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ विनियोजन भएकोमा १ अर्ब ४० करोड ८४ लाख खर्च भएको तथ्याङ्कमा उल्लेख छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि चालू आवमा विनियोजन भएको ३ अर्ब ५२ करोड ८० लाख रुपैयाँमध्ये ६ महिनामा १८ करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
त्यस्तै अर्को निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३६ करोड विनियोजन भएकोमा पुस मसान्तसम्म ३० करोड रुपैयाँ खर्च भएको छ ।
सुनकोसी मरिण डाइभर्सन आयोजना
सुनकोसी मरिण डाइभर्सन आयोजनाका लागि चालू आवमा २ अर्ब ३६ करोड १० लाख रुपैयाँ विनियोजन भएकोमा अर्थ वार्षिक समीक्षाअनुसार ७९ करोड ८ लाख रुपैयाँ खर्च भएको छ ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम
त्यस्तै राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि चालू आवका लागि विनियोजन भएको १ अर्ब ५२ करोड ६४ लाख रुपैयाँमध्ये १४ करोड ७९ लाख रुपैयाँ खर्च भएको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ ।
अन्य अवस्था पनि दयनीय
त्यस्तै अन्य उत्तर-दक्षिण लोकमार्ग (कोसी कारिडोर), उत्तर-दक्षिण लोकमार्ग (कालीगण्की करिडोर), उत्तर-दक्षिण लोकमार्ग (कर्णाली करिडोर), गल्छी त्रिशूली मैलुङ स्याप्रुबेसी रसुवागडी सडक, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, बूढीगण्डकी जलविद्युत आयोजनामा पनि विनियोजन भएको रकम उल्लेख्य रुपमा खर्च सकेको छैन ।
साथै पश्चिम सेती जलविद्युत आयोजना, बबई सिँचाइ आयोजना, महाकाली सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना, रानीजमरा कुलरिया सिँचाइ आयोजना, भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा पनि विनियोजन भएको रकम धेरै खर्च हुन सकेको छैन ।