अछाम घर भई भारतको मुम्बई बस्दै आएका जगत ओलीलाई मन्त्री आलेले अश्लील गाली गरेका छन् । उक्त गाली गरेको अडियाे/भिडियाे सामाजिक सञ्चालमा सार्वजनिक भएको हो ।
आफूविरुद्ध फेसबुकमा किन नानाथरी कमेन्ट गरेकाे ? भन्दै मन्त्री आले ओलीविरुद्ध खनिएका छन् ।
यस्तै आलेले ओली बसेकाे ठेगाना माग्दै त्यहीँबाट उठाइदिने र हातखुट्टासमेत भाँचिदिने जस्ताे धम्की दिएकाे सुन्न सकिन्छ ।
सचिवालयद्वारा खेद प्रकट
यसैबीच मन्त्री आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले खेद प्रकट गरेको छ ।
निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले विरोध जनाएका छन् ।
सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृत रूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीय सचिव रेग्मीले आग्रहसमेत गरेका छन् ।
मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तर रूपमा उनीमाथि ब्ल्याकमेल गर्ने, उनलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको हो ।
पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आम जनसमुदायलाई सचिवालयले आग्रहसमेत गरेको छ । नेता आले समाजवादीमा आवद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उहाँविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लील शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त गरेको छ ।