काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँचतारे होटल याक एण्ड यती बन्द गराउने निर्णय गरेपछि विश्वभर नेपालको नकारात्मक सन्देश प्रवाह भएको छ ।
सरकारले एक्कासी होटल बन्द गराउने निर्णय गरेसँगै रुम बुकिङ गरेका २ सय जना भन्दा बढी पाहुँना अलपत्र परेसँगै नेपाल बदनाम हुन पुगेको हो । संसारभर हस्पिटालीटी क्षेत्रलाई अत्यन्तै संवेदनशील मानिन्छ । होटलमा आइपुगेका पाहुनालाई उत्कृष्ट व्यवहार गर्न सकेन भने त्यसको असर समग्र पर्यटन क्षेत्रमै पर्छ । तर, यहाँ त सरकार आफैं अग्रसर भएर नेपालप्रतिको नकारात्मक सन्देश प्रवाह भएको छ ।
‘एउटा होटल मात्रै बन्द भएको छैन्’ एक पर्यटन व्यवसायीले भने, ‘नेपाल पर्यटकका लागि कस्तो मुलुक हो भनेर पनि सन्देश दिइएको छ ।’ विभागीय मन्त्री प्रेम आलेले सस्तो लोकप्रियता कमाउन होटल बन्द गर्दा विश्व जगतमै नेपालको बदनाम भएको छ । एउटा होटल बन्द हुने वित्तिकै अर्थतन्त्रका विभिन्न पाटाहरुमा पनि प्रत्यक्ष असर पुग्ने ती व्यवसायीको भनाइ छ ।
त्यसैगरी, त्यहाँ कार्यरत करिब ५ सय भन्दा बढी कर्मचारीहरुको भविष्य अन्यौलमा परेको छ । सरकार र होटल व्यवस्थापनबीचको द्धन्द्धले त्यहाँ कार्यरत कर्मचारीहरु अन्यौलमा पर्नुको साथै होटलमा बसेका करिब २ सय भन्दा बढी पाहुनाहरु समेत कहाँ सिफ्ट हुने भन्ने समस्याले गाँजेको छ ।
कोभिड संक्रमणको दर विस्तारै कम भएसँगै बुकिङ बढ्दै आइरहेको बेला सरकारले एक्कासी होटल बन्द गराउने निर्णय गराएपछि आफूहरुको भविष्य के हुने भन्ने चिन्ताले सताउन थालेको प्रशासन प्रमुख विजय प्याकुरेलको भनाइ छ ।
लामो समयसम्म बन्द भएको होटल कोभिडको संक्रमणदर कम भएपछि विस्तारै खुल्न थालेर कर्मचारीहरुमा थप उत्साह जागिरहेको बेला एक्कासी मन्त्रीले बन्द गराउने निर्णयले थप समस्या बनाएको उनको भनाइ छ । मन्त्रीको निर्देशनपछि होटलको बैंक खाताहरु र सबै सम्पत्तीहरु रोक्का भइसकेकोले कर्मचारीहरुलाई तलब खुवाउनेदेखि उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने समेतको चिन्ता थपिएको उनले बताए ।
‘कर्मचारीको व्यवस्थापनसँगै होटलमा रहेका पाहुनाहरुलाई समेत के भनेर अर्को ठाउँमा सिफ्ट गराउने भन्ने विषयले थप अन्यौलता छाएको बताउँछन् । यसैगरी होटलमाथि आक्रमण गर्ने बन्द गराउँदै जाने हो भने विदेशी पाहुनाको मनमा नेपाली होटल प्रतिको विश्वास समेत गुम्दै जान्छ ।
पर्यटन मन्त्री आलेले माघ २६ गते मन्त्री स्तरीय निर्णय गर्दै दरबारमार्गमा रहेको सो होटल बन्द गराउने निर्णय गरेका थिए । पर्यटन विभागले पटक पटक क्यासिनो सञ्चालन बापतको रोयल्टी र नविकरण शुल्क तिर्न ताकेता गर्दापनि बेवास्था गरेको भन्दै पर्यटन मन्त्री आलेले होटल बन्द गर्न निर्देशन दिएका थिए ।
सरकारको निर्णय बेवास्था गरेको भन्दै गृहमन्त्रालयले फागुन १ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्रचार गरि होटल बन्द गराउन अर्को निर्देशन समेत दिइसकेको छ । तर, होटल व्यवस्थापनले भने विभागले भन्दै आएको क्यासिनो आफुहरुले सञ्चालन नगरेको र ७ वर्ष अघिनै बन्द भएको दाबी गर्दै आएको छ । सरकार र होटल व्यवस्थापन बीचमा दाबी चलिरहेको बेला गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र पठाएपछि भने थप अन्यौलता सँगै त्रास बढ्न थालेको कर्मचारीहरुको भनाइ छ ।
हाल होटलमा ५ सय भन्दा बढी कर्मचारीहरु कार्यरत छन् भने २ सय भन्दा बढी ग्राहकहरु अहिले होटलमा बस्दै आएका छन् । सरकारको पछिल्लो निर्णयका कारण कर्मचारीहरुको भविष्य के हुन्छ भन्ने अन्यौलता समेत बढ्न थालेको विजय प्याकुरेलले को भनाई छ । कर्मचारीहरुसँगै होटल बस्दै आएका पाहुँनाहरु समेत त्रसित हुन थालेका छन् ।
जुनसुकै बेला प्रशासन आएर बन्द गराउन सक्ने भएकोले ती पाहुनाहरु सोही होटलमा बस्ने वा अर्कोमा जाने भन्ने अन्यौलमा पर्न थालेका छन् । त्यति मात्र हैन,होटल बन्द गर्ने निर्णयका कारण पछिल्लो समय हुँदै आएको बुकिङ समेत रद्ध गर्न थालेका छन् ।
कोभिडले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने खालका कार्यक्रमहरु र राहतका प्याकेजहरु दिनुपर्ने बेलामा उल्टै बन्द गराउने निर्देशनले व्यवसायीक वातावरणनै खल्बलिएको बताउदै आएका छन् ।
याक एण्ड यतीले ०७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर, आर्थिक वर्ष ०७८÷०७९ को रोयल्टी दस्तुर समेत गरि ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ तिर्न बाँकी रहेको विभागको दाबी छ । याक एण्ड यतिले भने ७ वर्ष अघिबाटै क्यासिनो सञ्चालन बन्द गरेको र कुनै रकम सरकारलाई तिर्न बाकि नरहेको दाबी गर्दै आएको छ ।