काठमाडौं । अर्थतन्त्रमा देखिएको शिथिलताको प्रभाव व्यापारीमा पनि पर्न थालेको छ । व्यापारमा आएको मन्दीले व्यापारीलाई आर्थिक सन्तुलन मिलाउन हम्मे–हम्मे पर्न थालेको हो ।
आर्थिक गतिविधि सुस्त बन्दै गएपछि व्यापारीले आर्थिक सन्तुलन मिलाउन विभिन्न उपायको खोजी गर्न थालेका छन् । उत्पादित सामानको व्यापार ठप्प छ । तर, यतिखेर बैंकको ब्याज र किस्ता तिर्नैपर्ने दबाबमा उद्योगी/व्यवसायीहरू छन् ।
‘अर्थतन्त्रको चक्र नराम्ररी प्रभावित भएपछि त्यसको असर व्यापारीमाथि पनि पर्ने नै भयो’, उद्योगी वीरेन्द्र शाह भन्छन्, ‘जुत्ता/चप्पल तथा कार्पेटको व्यापार ठप्पजस्तै भएको छ । यस्तो अवस्था अहिलेसम्म आएकै थिएन ।’
आर्थिक गतिविधि सुस्ताउँदा बैंकबाट ऋण लिएर व्यापार गर्नेहरू बढी प्रताडित बनिरहेका छन् । अहिले बैंकलाई ब्याज बुझाउन सेयरदेखि घरजग्गासमेत बेच्न बाध्य भएका छन् । केही दिनअघि मात्रै एक उद्योगीले आर्थिक सन्तुलन गुम्न नदिन ५ करोडको सेयर बेचेका थिए ।
बैंकबाट ऋण लिएर व्यवसाय गर्नेहरू दिन–प्रतिदिन समस्यामा पर्दै गएका छन् । तर, बैंकबाट ऋण नलिएकाहरुलाई पनि आर्थिक संकट देखा पर्न थालेको छ ।
कतिपय व्यापारीले आर्थिक सन्तुलन नबिग्रियोस् भनेर घाटामै सेयरसमेत बेच्न थालेका छन् । बैंक ऋणको दायित्व ठूलो नभएकाहरू पनि आर्थिक संकटबाट गुज्रिन थालेको उद्योगीहरू बताउँछन् ।
कतिपय वस्तुको व्यापार पूर्णरूपमा ठप्प छ । भएको व्यापार पनि नगदमा हुनै छाडिसक्यो । उधारोको चक्र ६ महिना पुग्न थालिसक्यो ।
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार रेमिट्यान्स घट्नुले अर्थतन्त्र समस्यामा पर्दैछ भन्ने संकेत मात्रै गरेको बताउँछन् । सरकारले तत्काल आवश्यक कदम नचाल्ने हो भने अर्थतन्त्र भयावह हुन सक्ने उनको भनाइ छ ।
उद्योग/व्यवसाय गर्न लिएको ऋण नै उद्योगी व्यवसायीका लागि पासो बन्न लागेको उनीहरु बताउँछन् । एकातिर बैंकको ब्याज दोब्बर बढाइसकेका छन् । अर्कोतिर व्यापारमा मन्दीजस्तै छ । यस्तो अवस्थामा उद्योगी/व्यवसायीलाई आर्थिक सन्तुलन मिलाउन कठिन बन्दै गएको हो ।
सरकारले पुँजीगत खर्च बढाउन नसक्दा सरकारको ढुकुटीमा भएभरको पैसा थुप्रिएर बसेको छ । निर्माण व्यवसायीलाई सरकारले भुक्तानी गर्नुपर्ने ठूलो रकम भुक्तानी गरेको छैन । बैंकले थप ऋण दिन पनि सकिरहेका छैनन्, जसले व्यापारमा मन्दी आएको छ ।