वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृिद्ध भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा ३३ अर्ब ४८ करोड २९ लाख रूपैयाँ बढी मूल्यको १० लाख ७ हजार ६ सय ९० लिटर इन्धन बढी आयात भएको हो ।
पेट्रोलियम पर्दाथअन्तर्गत डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धनलगायत पर्दछन् । आर्थिक वर्ष २०७७/८७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी ३१ अर्ब ८९ करोड २१ लाख रूपैयाँ मूल्यको ७ लाख ८ सय ३५ लिटर इन्धन आयात भएको तुलनामा चालू आवको सोही अवधिमा ६५ अर्ब ३७ करोड ५१ लाख रूपैयाँ मूल्य बराबरको १७ लाख ८ हजार ५ सय २५ लिटर डिजल पेट्रोल, मट्टितेल तथा हवाई इन्धन आयात भएको छ ।
यो समीक्षा अवधिको तुलनामा १०५ प्रतिशत बढी मूल्यको १४४ प्रतिशत इन्धन आयात भएको हो । कोरोना सङ्क्रमणका कारण गतवर्ष उद्योग व्यापार, यातायात, विकास निर्माण कार्य प्रभावित भएका कारण इन्धनको आयातमा कमी आएको थियो ।
चालू आवको पहिलो छ महिनामा कोरोनाको प्रभाव खासै यी क्षेत्रमा नदेखिएका आयात वृद्धि भएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो ।
उनले गत आवको पहिलो छ महिनाको तुलनामा चालू आवको सोही अधिमा डिजल २२ प्रतिशत, पेट्रोल २५ प्रतिशत, हवाई इन्धन ३ हजार २८८ प्रतिशत, खाना पकाउने ग्यास १५ प्रतिशत बढी अयात भएको छ भने मट्टितेलको आयात ४० प्रतिशत कम भएको बताए ।
गत आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाकाबाट २३ अर्ब १० करोड ३४ लाख रूपैयाँको ५ लाख ४ हजार ४ सय १७ केल डिजल, ७ अर्ब ४८ करोड २१ लाख रूपैयाँको १ लाख ६४ हजार १६६ केल पेट्रोल, १ अर्ब ५ करोड ९८ लाख रूपैयाँको २६ हजार ११२ केल हवाई इन्धन र २४ करोड ६६ लाख रूपैयाँको ६ हजार १४० केल मट्टितेल आयात भएको थियो ।
चालू आवको सोही अवधिमा ४४ अर्ब ४१ करोड ८१ लाख रूपैयाँको ६ लाख १४ हजार ३४८ केल डिजल, १६ अर्ब १२ करोड ९ लाख रूपैयाँको २ लाख ५ हजार २५२ केल पेट्रोल, ५ अर्ब ४३ करोड २३ लाख रूपैयाँको ८ लाख ८४ हजार ७ सय ६४ केल हवाई इन्धन र ३४ करोड ३७ लाख रूपैयाँको ४ हजार १६० केल मट्टितेल आयात भएको सूचना अधिकारी गुप्ताले जानकारी दिए ।
उनले गत वर्ष इन्धन आयातबाट २४ अर्ब ९७ करोड ७८ लाख रूपैयाँ राजस्व सङ्कलन भएको थियो भने चालू आवको छ महिनामा ३३ अर्ब ४९ करोड ७६ लाख रूपैयाँ सङ्कलन भएको बताए। त्यसै यहाँको नाका प्रयोग गरी खाना पकाउने एलपि ग्यासको आयात १५ प्रतिशत बढी भएको छ ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा ७ अर्ब ४९ करोड ४८ लाख मूल्यको १ लाख १९ हजार ७०० मेट्रिक टन आयात भएको तुलनामा चालू आवको सोही अवधिमा १५ अर्ब २५ करोड ६३ लाख रूपैयाँको १ लाख ३७ हजार ३७३ मेट्रिकटन ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ । रासस