काठमाडौं । नेप्से सूचक सोमबार फेरि २७ सयकै मनोवैज्ञानिक रेखामा अडिएको छ । बजार खुलेको केहीबेरमा सूचकमा वृद्धि देखिएको थियो । दोहोरो अंकले बढेको बजारमा अन्तिम प्रहरमा फेरि बिक्री चाप आएको थियो । तर, बन्द हुने बेलामा नेप्से रिबाउन्स हुँदै सूचक हरियो बनेको छ । यसरी हरियो बनेसँगै नेप्से सूचक ०.०८ विन्दुले बढेर नेप्से २७००.९८ अंकमा अडिएको छ ।
लगानीकर्ताका लागि यो महत्वपूर्ण मनोवैज्ञानिक विन्दु हो । बजार यो विन्दुबाट फेरि माथि लाग्ला वा तल झर्ला भन्ने आम चासो रहेको छ । तथापि, अन्तिम प्रहरको अवस्थाले केही सकारात्मक अवस्थाको संकेत गरेको छ । ३ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यतिबेला अर्थतन्त्रका कतिपय सूचक सकारात्मक नभए पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरुमा चालेको कदमले सकारात्मक अवस्था सिर्जना हुने विश्वास गर्न सकिन्छ ।
आयातमा निकै कडाइ गरिएको छ । शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने प्रावधानले केही समयपछि वित्तीय प्रणालीमा तरलता सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसैगरी क्रिप्टो र नेटवर्किङमा गरिएको कडाइले पुँजी पलायन हुने खतराबाट विस्तारै सहज अवस्था आउने केन्द्रीय बैंकको विश्वास छ । बैंकहरुले अहिले निक्षेपको ब्याजदर उच्चतम विन्दुमा पुर्याइसकेका छन् ।
ब्याजदर लगभग उच्च विन्दुमै पुगिसकेकाले अब धेरै माथि जाने अवस्था नरहेको लगानीकर्ताहरुको बुझाई छ । धेरै माथि पुगेपछि विस्तारै तल झर्ने अपेक्षामा दीर्घकालीन लगानीकर्ताहरु बसेका छन् । यी पक्षहरुलाई दीर्घकालीन र मध्यकालीन लगानीकर्ताले हेरेका हुन्छन् । तर, अल्पकालीन वा सर्ट टर्म ट्रेडरहरुले भने तत्कालको अवस्था बढी अध्ययन गर्छन् । दिनहुँ हुने उतारचढावबाट लाभ लिने प्रयास गरिरहेका हुन्छन् ।
यस कारण आफू कस्तो प्रकारको लगानीकर्ता हो भन्नेतर्फ ध्यान दिई सोहीअनुसार रणनीतिहरु तय गर्नुपर्ने हुन्छ । फागुन लागिसकेकाले सरकारी खर्चहरुमा तेजी आउन सकेमा यसले तरलता सहज बनाउन सहयोग पुग्नेछ । निर्वाचन माहोल बनेमा त्यसले पनि बजारमा पैसाको आपूर्ति बढाउनेछ । तथापि, यी सबै अनुमान गरिएका विषय हुन् । सधैं अर्थतन्त्र र सेयर बजार अनुमान गरिए अनुसार चल्दैन ।
बीचबीच आउने अर्थ–राजनीतिक परिवर्तन, नीतिगत परिवर्तनले पनि बजारको गति र प्रवृत्तिमा तत्काल परिवर्तन ल्याइदिन सक्छ । यसर्थ, लगानीकर्ताले रिस्क–रिवार्ड रेसियोलाई समेत ख्याल गर्दै सबल कम्पनीमा लगानी गर्न सक्नुपर्छ । आफ्नो रणनीति, होल्ड गर्न सक्ने अवधि समेतलाई ख्याल गर्नुपर्ने हुन्छ ।
बजार घट्दा होस् वा बढ्दा, लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ । यस्तै, सम्बद्ध क्षेत्रमा व्यवसायको अवसर र प्रतिस्पर्धा, कम्पनीहरुको चुक्ता पुँजी कति छ ? नियमनको अवस्था कस्तो छ ? भन्ने विषयतर्फ पनि अध्ययन गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् ।
सकेसम्म सबल वित्तीय सूचक भएका कम्पनीहरुमा आधारभूत अवस्था अध्ययन गरेर भ्याल्यू इन्भेष्टमेन्टको अवधारणालाई अवलम्बन गर्न सके बजारबाट लाभ लिन सकिने विश्वास गर्न सकिन्छ । यस्तै, कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ । कम्पनीको नाफा, रिजर्भ, लाभांश क्षमता, इपीएस, पीइ रेसियोका साथमा व्यवसाय विस्तारको सम्भावनातर्फ पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ ।