काठमाडौं । लामो समयको अन्तरालपछि नेपाल धितोपत्र बोर्डको नेतृत्व सोमबार आउने सम्भावना बढेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल संयोजक रहेका अध्यक्ष छनोट सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनाको नम्बर दिएर अर्थ मन्त्रालयमा पठाइसकेको छ ।
अर्थ मन्त्रालय र योजना आयोगका कर्मचारी मिलेर उनीहरूको नम्बर काउन्ट गरी सबैभन्दा बढी नम्बर ल्याउने पहिलो, दोस्रो र तेस्रो व्यक्तिलाई मन्त्रीपरिषदमा आजै लगिने स्रोतको दाबी छ ।
सिफारिस समितिले प्राप्त १५ आवेदनमध्ये ५ जना सिफारिस गरेको थियो । छनोट भएका उत्कृष्ट ५ जनामा निरज गिरी, रमेशकुमार हमाल र कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट र खगेन्द्र कटुवाल थिए । उनीहरूको आइतबार प्रस्तुति थियो ।
उनीहरूले दिएको प्रस्तुतिमध्ये सबैभन्दा कमजोर प्रस्तुति खगेन्द्र कटुवालको थियो । त्यसबाहेकका व्यक्तिको प्रस्तुति दमदार रहेको समितिका एक सदस्यले जानकारी दिए ।
४ जनामध्ये निरज गिरी, रमेशकुमार हमाल र कृष्णराज पोखरेल उत्कृष्ट तीनमा पर्न सक्ने सम्भावना छ । गिरी र पोखरेल हाल धितोपत्र बोर्डमै कार्यरत छन् भने हमाल बाहिरबाट प्रतिस्पर्धीको रूपमा उत्रिएका हुन् ।
स्रोतका अनुसार बोर्डको अध्यक्षमा हमालको पल्ला भारी देखिएको छ । किनभने, हमालले दिएको प्रस्तुति अन्यको तुलनामा बढी देखिएको स्रोतको दाबी छ । हमाललाई अर्थमन्त्री जनार्दन शर्माको साथ छ ।
बोर्डका पूर्वअध्यक्ष भिष्मराज ढुंगानाको बर्खास्तपछि उक्त पद खाली छ । सर्वाेत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएको भेटिएपछि ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो । धितोपत्र ऐन २०६३ मा धितोपत्र अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्षको पेसागत अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने प्रावधान छ ।