काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणमा सेना परिचालन हुने भएको छ । निर्माण व्यवसायी चीनको सिनो हाइड्रो कर्पोरेशन एक्लैले पुनर्निर्माण गर्न सम्भव नहुने भएपछि आयोजनाले सेनाको सहयोग मागेको हो ।
गत असार र साउनमा मेलम्ची खोलामा गएको बाढीले आयोजना स्थलमा ठूला ढुङ्गा राखेकाले त्यसलाई पन्छ्याउन सेनाको सहयोग लिनु परेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।
उनका अनुसार मेलम्चीमा बाढी गएपछि नेपाली सेना लगायत सरोकारवाला निकायले आवश्यक सहयोग गर्ने सहमति भएको थियो । ‘नदी सफा गर्न जवान परिचालन गर्छौं भनेर बाढी गएको समयमा नै सेनाले भनेको थियो त्यही कुरा कार्यन्वयन हुन लागेको हो’ सूचना अधिकारी पन्तले भने ।
तर, यसअघि हेडवक्स निर्माण गरेको सिनो हाइड्रोले एक्लै पुनर्निर्माण सुरु गरेको थियो । यद्यपी आयोजना स्थलमा ठूल्ठुला ढुङ्गा पन्साउन नसकेपछि सेनाको सहयोग मागेको हो ।
क्यापिटल नेपालसँग कुरा गर्दै पन्त भन्छन्, ‘डोजरलाएर ठूला ढुंगा फुटाउन सकिने अवस्था छैन, विष्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाउनु पर्ने देखिएको छ । हामीले पछिल्लो समय एक हप्ता भयो सेनाको सहयोग मागेको, अब आयोजना स्थलमा सेना परिचालन हुन्छ’ सुरुङ भित्र धेरै ग्रेगान नभरिएकाले चैतसम्म काठमाडौंमा पानी ल्याउन सकिने पन्तको भनाइ छ ।
३ ठाउँबाट अस्थायी रुपमा पुनर्निर्माण सुरु भएको आयोजनाको सुरुङ्को मुख भेटिएको छ । अम्बाथान, गेट नम्बर १ र ९ मा काम भइ रहेको छ । गेट नम्बर १ मा सुरुङको मुख भेटियो भने ९ नम्बरमा पुननिर्माणको काम बढी केन्द्रित गरेको आयोजनाका सिनियर डिभिजन ईन्जिनियर (सीडीई) पदम कुँवर बताउछन् । ‘१ नम्बरमा टनेलको मुख देखिएको छ ढुङ्गा नपन्साइ बाँकी काम गर्न सकिदैन । सोमबार बाट सेना परिचालन हुन्छ’ सीडीई कुँवरले भने ।
सीडीई कुँवरका अनुसार करिब १० मिटर खन्दा ९ नम्बर गेटको एउटा सिलिण्डर भेटिएको छ । अब करिब ८÷९ मिटर खनेपछि बाँकी संरचनाहरु भटिने आँकलन गरिएको छ । तर, अम्बाथानमा भने ३ मिटर खनेपछि ढुङ्गा भेटिएकाले अन्य काम गर्न सकिएको छैन ।
हालसम्म मेलम्चीको अस्थाइ रुपमा पुनर्निर्माणको काम करिब १५ प्रतिशत सम्पन्न भएको सीडीई कुँवरले बताए । काठमाडौंमा पानी ल्याउने मिति भन्न सक्ने अवस्था नरहेको उनी बताउछन् । ढुङ्गा नफुटाएसम्म पुनर्निर्माण सकिने समय अनुमान गर्न नसक्ने उनको भनाइ छ ।
मेलम्चीको पानी काठमाडौं ल्याउन आयोजनाको १ र ९ नम्बर गेट तथा अम्बाथान अडिट सफा गर्ने कार्यविधि तयार भएको थियो । सोहीअनुसार माघको दोस्रो साताबाट मेलम्चीमा अस्थायी रूपमा पुनर्निर्माण सुरु भएको हो ।
३ ठाउँबाट पुनर्निर्माण भएको मेलम्चीमा करिब १२ वटा उपकरण, २२ वटा ट्रक तथा ७० जना जति जनशक्तिले काम गर्दै आएका छन् । गत असार १ र साउन १६ गते मेलम्ची खोलामा गएको लेदोसहितको बाढीले खानेपानी आयोजनाका विभिन्न संरचनाहरू पुरिएका छन् । बाढीले आयोजना स्थलमा ल्याएको गेग्रान नपन्साउँदा क्षतिको यकिन विवरण हालसम्म पनि प्राप्त हुन सकेको छैन ।
सरकारले पटक–पटक मेलम्चीको पानी चैत मसान्तसम्म उपत्यकामा ल्याउने घोषणा गर्दै आएको छ । माघ ७ गते प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीको नाममा सम्बोधन गर्दै अस्थायी रूपमा यो वर्षभित्र मेलम्चीको पानी उपत्यकामा ल्याउने बताएका थिए ।
यस्तै खानेपानीमन्त्री उमाकान्त चौधरीले पनि चैतसम्ममा पानी ल्याउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । अबको करिब २ महिनामा आयोजनाको पुनर्निर्माण सम्पन्न गरी सक्नुपर्छ । तर, हालसम्म सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकासँग मिलेर आयोजनाले अस्थायी रूपमा ८ किलोमिटर बाटो निर्माणबाहेक अरू काम गर्न सकेको छैन ।
उता अर्थ मन्त्रालयले अस्थायी रुपमा मेलम्ची पुनर्निर्माणका लागि ३६ करोड ४५ लाख ३३ हजार रुपैयाँ दिने सहमति गरेको छ । खानेपानी मन्त्रालयका अनुसार मेलम्ची खानेपानी आयोजनाले नै उक्त रकम माग गरेको थियो । सोहीअनुसार अर्थले बजेट दिने सहमति गरेको हो ।