यति बेला छिमेकी मुलुकको उत्तर प्रदेशमा चुनावी माहौल चलिरहेको छ । भोलि अर्थात् १४ फेब्रुअरीमा दोस्रो चरणको मतदान हुँदैछ । ९ जिल्लामा ५५ सिटका लागि कुल ५८६ प्रत्याशी भिड्दैछन् । आफ्नो भाग्य–परीक्षा दिँदैछन् ।
चुनाव हुने जिल्लामा अमरोहा, बरेली, मुरादाबाद, शाहजांहपुर, सहारनपुर, बिजनौर, संभल र बदायुँ छन् ।
यसरी दोस्रो चरणमा हुने चुनावका लागि मैदानमा कडा रूपमा उत्रिएका ५ सय ८६ जना उम्मेदरवारमध्ये २६० (४५ प्रतिशत) जना करोडपति छन् । तथ्यांकअनुसार यिनीहरूमध्ये ९६ जनासँग ८ करोडभन्दा बढी सम्पत्ति छ भने ९० जना ३ देखि ८ करोडका मालिक छन् । साथै १ सय ४० उम्मेदवार यस्ता छन्, जोसँग ८० करोडदेखि ३ अर्बसम्मको सम्पत्ति छ । १५५ प्रत्याशीहरुसँग १०–५० लाख र बाँकी ९६ प्रत्याशीसँग १० लाखबराबरको सम्पत्ति छ ।
तर, चुनावी मैदानमा ३ जना यस्ता पनि प्रतिस्पर्धी छन्, जोसँग डेढ अर्बभन्दा माथि सम्पत्ति छ ।
त्यसोभए टप १० धनी प्रत्याशीहरु को को हुन् त ? आउनुस् थाहा पाइराखौं ।
१. नवाब काजिम अलि खान (कांग्रेस)
रामपुरबाट चुनाव लडिरहेका नवाब उत्तर प्रदेशमा हुने दोस्रो चरणको चुनावअन्तर्गत कुल ५८६ प्रत्याशीमध्ये सर्वाधिक धनी हुन् । उनीसँग ३ करोड ५२ लाख चल र ४ अर्ब ७० करोड अचल गरी झन्डै ५ अर्बको सम्पत्ति छ । ६१ वर्षीय नवाबका विभिन्न ५ वटा बैंकमा खाता छन् । यिनमा करिब १ लाख ९२ हजार रुपैयाँ छ । उनीसँग एउटा कार छ, जसको मूल्य ४५ लाख हो । यसबाहेक ६५ लाखबराबरका गरगहना पनि छन् । र, सबा ३ लाख रुपैयाँका केही अमूल्य वस्तुहरु पनि उनीसँग छन् ।
यस्तै नवाब पत्नी यासिन अली खानका ४ वटा बैंक खाता छन् । खातामा ३ लाख ५५ हजार रुपैयाँ र नगद छ ८० हजार । यिनीसँग ३५ लाखको कार र ६१ लाख रुपैयाँबराबरका गहना छन् । यस्तै डेढ लाखका अन्य बहुमूल्य वस्तुहरू छन् ।
२. सुप्रिया ऐरन, समाजवादी पार्टी
बरेली क्यान्टबाट समाजवादी पार्टीको टिकटमा चुनाव लडिरहेकी सुप्रिया महिला उम्मेदवारमध्ये सर्वाधिक धनी हुन् । यस्तै समग्र धनी उम्मेदरवारमध्ये २ नम्बरमा पर्छिन् । उनको कुल सम्पत्ति २ अर्ब ८० करोड रुपैयाँबराबर छ । जसमा साढे १६ करोड चल र २ अर्ब ३५ करोड अचल सम्पत्ति समावेश छ ।
उनीसँग कुनै सवारीसाधन छैन । तर, उनका पति प्रविणसँग भने २ वटा ट्याक्टर र एउटा मर्सिडिज गाडी छ ।
३. देवेन्द्र नागपाल, भाजपा
अमरोहाको नौगाउँ सादात सिटबाट उम्मेवार बनेका नागपाल धनी प्रत्याशीको सूचीमा तेस्रो नम्बरमा पर्छन् । उनीसँग ७२ करोड चल र १ अर्ब ५२ करोड गरी कुल २ अर्ब २४ करोडबराबरको सम्पत्ति छ ।
४. कुणाल सिंह, राष्ट्रिय परिवर्तन दल
बदायुँको सहसवान सिटमा राष्ट्रिय परिवर्तन दलबाट चुनाव लडिरहेका सिंह धनी प्रत्याशीहरूको सूचीमा चौथोमा पर्छन् । उनको चल/अचल गरी १ अर्ब ४० करोडको सम्पत्ति छ ।
५. रइस अहमद, समाजवादी पार्टी
बदायुँबाटै विधानसभा चुनावका प्रत्याशी अहम धनी प्रत्याशीमध्ये पाँचौं स्थानमा छन् । उनीसँग चल/अचल गरी झन्डै १ अर्ब १६ करोडको सम्पत्ति छ ।
६. मोहम्मद नसिर, समाजवादी पार्टी
मुरादावादको ग्रामीण विधानसभा सिटका लागि चुनावी प्रत्याशी बनेका नसिरले १० धनी प्रत्याशीको सूचीमा छैटौं नम्बरमा छन् । उनीसँग चल/अचल गरी कुल सम्पत्ति झन्डै १ अर्बको छ ।
७. राजा भारतेन्द्र सिंह, भारतीय जनता पार्टी
सातौं नम्बरमा छन्, बिजनौर जिल्लाको नाजियावाद सिटका लागि चुनावी मैदानमा उत्रिएका सिंह । उनीसँग चल/अचल गरी कुल सम्पत्ति ७६ करोडको छ ।
८. योगेश कुमार, बहुजन समाजवादी पार्टी
बरेली भोजपुरा सिटबाट उठेका कुमार पनि धनी उम्मेदवारकै सूचीमा छन् । यस्तै १० धनी उम्मेदवारमध्ये बसपा पार्टीबाट एकमात्र करोडपति उम्मेदवार हुन् । उनले आठौं स्थान ओगटेका छन् । उनीसँग चल/अचल गरी कुल सम्पत्ति ७५ करोडबराबरको सम्पत्ति छ ।
९. अमित खन्डेलवाल, जनशक्ति एकता पार्टी
बरेली सिटबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका अमितसँग चल/अचल गरी ६७ करोडबराबरको सम्पत्ति छ ।
१०. योगेश दहिया, आम आदमी पार्टी
सहारनपुर सिटबाट आम आदमी पार्टीका प्रत्याशी दहिया १० धनी उम्मेवारको सूचीमा १० औं नम्बरमा छन् । उनीसँग चल÷अचल गरी कुल ५६ करोडको सम्पत्ति छ ।
साथै उनी यो पार्टीबाट एक मात्र धनी प्रत्याशी हुन् ।