काठमाडौं । सेयर बजारमा 'बबल' आएको भनेर व्याख्या गर्दै बस्ने सरकारी अधिकारी र नियामकहरूलाई आइतबारको सेयर बजार सूचकले राहत दिएको छ । तर, लगानीकर्ताको पैसा भने एकै दिनमा धुलीसात भएको छ ।
गत साता बिहीबार २८०१ मा रोकिएको सूचक साताको पहिलाे दिन आइतबार कारोबार खुलेसँगै घट्न थालेको थियो । शुक्रबार मात्रै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुले बढाउन अनुमति दिएको थियाे । लगत्तै बैंकरहरूले यसअघिको भद्र सहमति तोड्दै निक्षेपकको ब्याजदर बढाउने निर्णय गरेका थिए ।
ब्याजदर बढ्ने निर्णयसँगै सेयर बजार ओरालो लाग्ने धेरैको अपेक्षा थियो । तर, आइतबार कार्यालय समय खुलेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सत्तारुढ गठबन्धनले महाअभियोग प्रस्ताव संघीय संसदमा दर्ता गरेसँगै लगानीकर्ताको मनोभाव थप गिजोलियो र बजार उच्च अंकले ओरालो लाग्यो ।
अन्ततः बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१ अंकले घटेर २७००.३२ अंकमा रोकियो । यद्यपि, आइतबार कारोबार रकमले भने उत्साह थपेको छ । घट्दो बजारमा कारोबार रकमको वृद्धिले बजार थप 'पेनिक' हुने हो कि भन्ने आशंका गरिन्छ ।
आइतबार ५ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बरारबको सेयर किनबेच भएको छ । जुन गत साता भएको कारोबारभन्दा बढी हो । गत साताकाे बिहीबार अधिकतम ४ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
बजार बढिरहँदा नियामक र सरकारी अधिकारीहरू बजार अनावश्यक बढेको भन्दै ‘खिसिट्युरी’ गर्थे । र, सेयर बजारमा 'बबल' देखिएको बताइरहेका छन् । यस्तैमा सेयर बजार पनि कुनै न कुनै फन्डा पच्छ्याएर ओरालो लाग्छ । र, बिनाकारण उचालिन्छ ।
विगतमा जसरी बजार बढ्यो, त्यसका आधारभूत पक्ष कुनै पनि बलिया थिएनन् । तर, जुन हिसाबले बजार घट्न खोजिरहेको छ, त्यसकाे पनि सपोर्टिङ अस्त्र छैन । तथापि, राजनीतिक, आर्थिक र व्यावहारिक हौवाहरूलाई लगानीकर्ताले सेयर बजार चलाउने अस्त्र बनाउँछन् र त्यसैको सिकार आइतबारको बजार बनेको छ ।
यही प्रवृत्ति देखिँदा र प्रमुख प्रतिपक्षले महाअभियोगकाे थप अस्त्र चलाउने हो भने बजार अझै घट्न सक्छ । वैशाख ३० गते हुने चुनावलाई देखाएर उचाल्ने कोसिस गरिएको बजार एउटै राजनीतिक झट्काले शतक हानेको छ । तर, आइतबारको बजारमा कुनै पनि कम्पनीको सेयर मूल्यमा ऋणात्मक सर्किट लागेको छैन । यसअघि स–साना गिरावटमा पनि कम्पनी केन्द्रीय सर्किट लाग्थ्यो । यद्यपि, आइतबार सबैभन्दा बढी माथिल्लो तामाकोसीको सेयर मूल्य ८.३७ प्रतिशतले घटेको छ भने कारोबार रकम पनि उही कम्पनीको ३२ करोड ८४ लाख रुपैयाँबराबर भएको छ ।
उच्च १० सेयर मूल्य घट्ने कम्पनीमा ५ वटा जलविद्युत् समूहका छन् भने उच्च सेयर कारोबार १० कम्पनीमध्ये ४ वटा जलविद्युत् समूहका छन् । समग्र सूचक घटाउन कारोबार भएका १९१ कम्पनीमध्ये १९० कम्पनीको मूल्य घटेको छ भने एउटा सेयर मूल्य स्थिर छ ।
उता कम्पनीमा गणना नहुने ५ म्युचुअल फन्डको सेयर मूल्य सामान्य बढेको छ ।