काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्य (नदी पथान्तरण) आयोजनाका लागि सुरक्षा मागेको छ ।
आयोजनाको सुरुङ निर्माणको जिम्मेवारी लिएको चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक) को सुरक्षा व्यवस्थाको माग गरेपछि जिल्ला प्रशासनले उक्त प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो ।
२ हप्ता पहिला कोभेकको मागअनुसार आवश्यक सुरक्षा व्यवस्था मिलाउनको लागि गृह मन्त्रालयमा प्रस्ताव लगिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रमेश न्यौपाने बताए । सीडीओ न्यौपाने डाइभर्सन आयोजना स्थलमा सुरक्षा व्यवस्था गर्ने प्रस्ताव गृहमा पठाएको जानकारी दिए ।
कोभेकले गत पुसमा सुरक्षा व्यवस्था गर्न जिल्ला प्रशासनसँग माग गरेको थियो । कोभेकको मागमा सकरात्मक रहेको प्रशासनले गृह मन्त्रालयमा प्रस्ताव लगेको हो । गृहले स्वीकृति दिएमा आयोजना स्थलमा सुरक्षा व्यवस्था हुनेछ । २०७७ फागुनमा सो आयोजनाको सुरुङ निर्माण गर्ने जिम्मेवारी लिएको कोभेकले लिएको थियो ।
कोभेकले बाँध स्थलमा हालसम्म ५ प्रतिशत निर्माणको काम सम्पन्न गरेको आयोजनाका सूचना अधिकारी रवि शाक्य बताउँछन् । त्यस्तै सुरुङ निर्माण स्थलमा साइट क्लियरिङको काम पनि धमाधम भइ रहेको छ । कात्तिकमा सुरुङ निर्माण स्थलमा ९२ वटा रुख काट्न अनुमति प्राप्त गरेको आयोजनाले हालसम्म ७० भन्दा बढी रुख कटिसकेको छ ।
यद्यपी बाँकी रहेका रुख आवश्यक देखिएमा काट्ने र नदेखिएमा नकाट्ने सूचना अधिकारी शाक्यले जानकारी दिए । उनी भन्छन्, ‘हामीले रुख काट्नको लगि अनुमति लिइसकेका छौं, काम गर्दै जादा आवश्यक पर्यो काट्छौं नपरेमा नकाट्न पनि सकिन्छ ।’
तर, उक्त ९२ वटा संख्या पुरै आयोजनामा काटान गर्नु पर्ने नभइ सुरुङ निर्माण स्थलमा कटान गर्नु पर्ने रुखको संख्या हो । सगम्र आयोजनामा कटान गर्नु पर्ने रुखको यकिन तथ्याङ्कको लागि सर्भे गराउनु पर्ने आयोजनाको भनाइ छ ।
आयोजनाले सिन्धुलीतर्फ ४० करोड रुपैयाँ मुआब्जा वितरण गरेको जनाएको छ । ‘सिन्धुली जिल्लामा मुआब्जा वितरणको काम सम्पन्न भएको छ । हामीलाई आवश्यक २० हेक्टर जग्गा अधिग्रहण गरेर मुआब्जा पनि वितरण गरिसकेका छौं, रामेछापतर्फ भने बाँकी नै छ’ सूचना अधिकारी शाक्यले भने ।
रामेछापतिर ३० हेक्टर जग्गा अधिग्रहण गर्नु पर्ने बताइएको छ । तर, स्थानीयले बस्ती डुवानमा पर्ने बन्दै जग्गा अधिग्रहण कार्यमा विरोध गर्दै आएका छन् । जसको कारण डाइभर्सन निर्माण कार्यमा समस्या हुँदै आएको छ ।
आयोजनाको कुल लागत अनुमान ४० अर्ब रुपैयाँ रहेको छ । त्यसमध्ये १६ अर्ब रुपैयाँ आयोजनाले प्राप्त गरेको छ । आयोजनाको मागअनुसार अर्थ मन्त्रालयले २० अर्ब रुपैयाँ स्रोत सुनिश्चितता गर्ने अनौपचारिक रुपमा गराइ सकेको छ । यद्यपी बाँकी रहेको रकम तत्काल उपलब्ध वा सुनिश्चित नभए पनि निर्माणको काम अगाडि बढाउन सकिने आयोजनाले जनाएको छ ।
आयोजनाको मुख्य सुरुङ सुनकोसी र तामाकोसीको संगम स्थलबाट ९०० मिटर तल (सिन्धुलीको खुर्कोटतर्फ) १२ मिटर उचाइको बाँध बनाएर निर्माण हुँदैछ ।
सुनकोसी र तामाकोसीको पानीलाई १३.१ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी सिन्धुली बजारबाट १२ किमी पश्चिममा रहेको कमलामाई नगर पालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसाल्ने योजना छ । त्यस्तै ६६ मिटर हेडेटबाट पानी झारेर ३१ मेगावाट विद्युत उत्पादन पनि गर्ने तयारी छ ।
सिन्धुली र रामेछापको सीमानामा निर्माण हुने परियोजनाले बागमती प्रदेश र प्रदेश नम्बर २ लाई जोड्ने छ । मरिण डाइभर्सनमा निर्माण हुने करिब १३ किमी लामो सुरुङमार्गको चौडाइ ५.५ मिटर हुनेछ । उक्त आयोजनाबाट मात्रै ७७ हजार हेक्टर खेती योग्य जमिनमा सिँचाइ पुग्ने छ ।
यसअघि नै बागमती सिँचाइ आयोजनाबाट ४५ हजार हेक्टरमा सिँचाइ पुगेको छ । २ वटा आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी धनुषा जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ ।