काठमाडौं । दोस्रो त्रैमासमा ४१ प्रतिशत अर्निङ पर सेयर (ईपीएस) निकालेको एनआईसी एसिया बैंकको सेयर मूल्य घटाउन ठूला लगानीकर्ता एकजुट भएका छन् । गत आर्थिक वर्षमा लाभांश दिन नसकेको र यस वर्ष पनि दिन नसक्ने अफवाह चलाएर मूल्य गिराउन खोजिएको छ ।
जतिसक्दो मूल्य घटाउने र आफूहरु उठाउने दाउमा बसेका छन् । त्यही भएर अहिले एनआईसी एसियाको सेयर मूल्य घटाउन ठूला लगानीकर्ता र ब्रोकरहरु मिलेका छन् ।
पर्फमेन्सका आधारमा एनआईसी एसिया अन्य वाणिज्य बैंकभन्दा अब्बल छ । बैंकले पहिलो र दोस्रो क्वाटरमा वित्तीय विवरण पनि सबैभन्दा राम्रो निकालेको छ । तर, गत आर्थिक वर्षमा १५ प्रतिशत लाभांश दिने गरी केन्द्रीय बैंकमा फाइल पठाएको थियो । तर, पुँजीकोष (क्यापिटल एडुकेसी रेसियो) नमिलेपछि केन्द्रीय बैंकले फाइल बैंकलाई नै फर्काएको छ ।
त्यही आधारमा केही ठूला लगानीकर्ता र ब्रोकर कम्पनी मिलेर सो बैंकको सेयर मूल्य घटाउन लागेका छन् । भविष्यमा एनआईसी एसिया बैंकले लगानीकर्तालाई उच्च प्रतिफल दिने गरी ग्राउन्ड बनाइरहेको छ । यो वर्ष १५ प्रतिशत लाभांश नदिनु भनेको उसको पुँजी नबढ्नु हो । पुँजी नबढ्ने बित्तिकै लगानीकर्तालाई फाइदा हुन्छ ।
जति बढी पुँजी हुन्छ, त्यति नै लाभांश दिने क्षमता घट्छ । तर, अहिले एनआईसी एसियाको पुँजी नबढेकाले यस वर्ष लगानीकर्तालाई उच्च प्रतिफल दिने देखिन्छ । एनआईसी एसिया बैंकले चालू आर्थिक वर्षमा ५ अर्ब ५० करोड हाराहारी नाफा कमाउने देखिन्छ । यसको पुँजी ११ अर्ब हाराहारी मात्रै छ । यदि गत आर्थिक वर्षमा १५ प्रतिशत लाभांश दिएको भए उसको पुँजी थपिन्थ्यो ।
एनआईसी एशिया बैंकको खराब कर्जा न्यून छ । कोभिड–१९ को विषम परिस्थितिमा समेत एनआईसी एशिया बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गरेको छ । निष्कृय कर्जालाई चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न एनआईसी एशिया बैंक सफल भएको छ ।
एउटै व्यक्ति वा संस्थालाई ठूलो रकमको ऋण प्रवाह गर्दा त्यस्तो रकम असुली हुन सकेन भने खराब कर्जा बढ्ने र त्यसले नाफामा समेत प्रभावित पार्ने हुँदा बैंक त्यसतर्फ सचेत भएको देखिन्छ । एसएमई कर्जाको मिश्रण बढाउने र साना आकारको कर्जाको मिश्रण बजार केन्द्रित गर्न अघि बढ्ने रणनीतिको फलस्वरुप बैंकको एनपीएमा कमी आउने देखिन्छ ।
एनआईसी एसिया बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्ममा २ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो ।
बैंकहरुले कर कार्यालयलाई बुझाएको विवरणअनुसा एनआईसी एसिया नाफामा पनि पहिलो स्थानमै छ । बैंकले २०७८/७९ को पुस मसान्तसम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम २ खर्ब ७३ अर्ब ४६ करोड पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (२२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन २ खर्ब ९९ अर्ब ३४ करोड पुर्याउन बैंक सफल भएको छ ।
यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल (आरओई) २१.७७ प्रतिशत रहेको छ । साथै, प्रतिसेयर आम्दानी ४१.४३ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।
हरेक सूचकलाई केलाउँदा बैंकले यस वर्ष ३५ प्रतिशत माथि लाभांश दिन सक्ने देखिन्छ । त्यही तथ्य थाहा पाएर केही ठूला लगानीकर्ताले सेयरमा चलखेल गरेर घटाउने र केही समयमै माथितिर उचाल्न सक्ने देखिन्छ । यसतर्फ सबै लगानीकर्ता सचेत हुन जरुरी छ । यदि सेयर मूल्य घट्न थाल्यो भनेर धमाधम लगानीकर्ताले सेयर बेचे भने पछि पछुताउनुपर्ने हुन सक्छ ।