काठमाडाैं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ। वर्ल्डलिंकले नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रबन्धनका लागि उद्यमशीलता विकासका लागि सक्रिय दायित्व नेपाललाई सहयोग गर्ने भएको हो।
वर्ल्डलिंकको सहयोगमा उद्यमशीलताका लागि नवीनता, सहकार्य र सेवा दिँदै आएको दायित्वले तीन वर्षमा तीनवटा नीतिगत विषयवस्तुमा सहयोग गर्नेछ।
सरकारका सम्बन्धित मन्त्रालयको समेत सहभागितामा तीन जनालाई दायित्व नेपाल नीति फेलोसीप प्रदान गर्ने गरी बिहीबार वर्ल्डलिंक र दायित्व नेपालबीच सम्झौता भएको हो ।
नीति अनुसन्धानसम्बन्धी सो सम्झौतामा वर्ल्डलिंकका कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवाल र दायित्व नेपालका अध्यक्ष डा. पुकार मल्लले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार, लगानीमा पहुँच, युवा रोजगरी, महिलाको आर्थिक शसक्तिकरण, मुल्य श्रृंखला र शासन सुधार लगायतका विषयवस्तुमध्ये विश्वव्यापी प्रतिस्पर्धामार्फत रिसर्च फेलो छनोट गरिनेछ ।
ती विद्यार्थीहरुले ३ देखि ६ महिनासम्म सम्बन्धित मन्त्रालयका सह–सचिवस्तरका अधिकारीहरुको मेन्टरिङमा नीतिगत अनुसन्धान गर्नेछन् । ५ सांसद र सम्बन्धित मन्त्रालयका ५ अधिकारीहरुको सहभागितामा १० विषयवस्तु छनोट गरेर विश्वव्यापी प्रतिस्पर्धा गरिने दायित्व नेपालले जनाएको छ ।
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष अग्रवालले स्वदेशभित्र उद्यमशीलता विकासका लागि सहयोग पुर्याउनका लागि प्रमाणमा आधारित नीति निर्माण र प्रवर्द्धनका लागि फेलोसिप सहयोग गरेको बताए ।
‘विदेश पढ्न गएकालाई स्वदेश फर्कन र स्वदेशबाट विदेश जाने तरखरमा रहेका युवालाई नेपालमै बसी काम गर्ने वातावरण निर्माणका लागि रोजगारी दिन सक्ने गरी उद्यमशिलता विकास गर्नका लागि नीतिगत रुपमा गर्नुपर्ने सुधारमा सहयोग पुर्याउन सहयोग गरेका हौ । उनले भने, ‘यसले नेपालमै उद्यमशीलता गर्नका लागि युवावर्गलाई प्रेरणा दिन सहयोग पुर्याउनेछ ।’
दायित्व नेपालका अध्यक्ष मल्लले वल्डंलिंकसँगको सहकार्यले युवा–सरकारबीचमा विश्वासका वातावरण निर्माणका साथै आर्थिक शुशासन अभिवृद्धिसँगै युवावर्गलाई आशा, उत्साह र परिवर्तित भएर अघि बढ्न सहयोग पुर्याउनेछ ।