काठमाडौं । मदिरा व्यापारमा एकछत्र राज गर्दै आएको ग्रीनलाइन सेन्टरका सञ्चालक अमित अग्रवालले आफ्नो सम्पत्ति बेचेर भए पनि सबैको ऋण तिर्ने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ग्रीनलाइनका सञ्चालक अग्रवालले कोभिडका कारण मदिराजन्य व्यवसाय सकंटमा परेकाले बैंकको ब्याज र किस्ता तिर्न नसक्दा समस्यामा परेको बताउँदै अवको केही समयभित्र सबै ऋण चुक्ता गरिदिने प्रतिबद्धता जनाएका हुन् ।
‘बरु हामी भाडामा बस्छौं, सञ्चालक अग्रवालले भने, सबै सम्पत्ति बेचेर भए पनि ऋण तिर्छौं’ । कोभिडका कारण होटल तथा रेष्टुराँहरू बन्द भएको कारण विगत दुई वर्षभन्दा अघिदेखि व्यवसाय ठप्प भएको बताउँदै अब अवस्था सामान्य हुँदै गएकाले सबैको ऋण तिर्ने र फेरि व्यवसायलाई निरन्तरता दिने बताए ।
एभरेष्ट बैंकले पुस २१ गते सटरमा ताला लगाएपछि उनीहरू तनावमा परेका थिए । पारिवारिक सल्लाह अनुसारनै केही समय नेपाल बाहिर जाने र छोरीको उपचार पनि गरेर तत्कालै फर्कने सोचका साथ भारत गएका अग्रवाल परिवारमा कोभिडका कारण केही समय अस्पतालमा बस्नु परेको बताए ।
‘हामी ऋण नतिर्ने मनसायले नेपालबाट बाहिर गएका हैनौं, सञ्चालक अग्रवालले भने, मेरो ७ पुस्ताले नेपालमा व्यवयास गर्दै आएको छ, हामी कसरी यहाँबाट टाढा हुनसक्छौं ?’ अहिले विभिन्न बैंकमा ७० देखि ८० करोड र केही सरकारी, व्यक्तिको गरेर २० देखि २५ करोड रुपैयाँ ऋण रहेको बताउँदै जति ऋण छ, त्यतिनै सम्पत्ति पनि भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको दाबी छ ।
आफूसँग अहिले पनि केही स्टक सामान रहेको र बजारमा पनि ५ करोडभन्दा बढी रकम उठ्न बाकी रहेकोले केहि समयभित्र सामान्य अवस्थामा आफूहरू फर्कने जानकारी दिए । अहिले बैंकहरूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको बताउँदै केही दिनभित्रबाट व्यवसाय समेत सुचारु हुने जानकारी दिए ।
विभिन्न ठाउँमा रहेको घर जग्गा र अपार्टमेन्टहरू यस अघिनै बिक्रीका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै बैना लिएकाहरूलाई धमाधम पास गरेर दिने उनको भनाइ छ ।
कुन बैंकमा कति ऋण छ ?
अहिले एभरेष्ट बैंकमा २० करोड ७५ लाख रुपैयाँ ऋण रहेको र त्यसका लागि १८ आना जग्गा ज्ञानेश्वरको र ५ वटा अपार्टमेन्टको फ्लाट गरी २८ करोड जतिको पुँजी बैंकमा ऋण रहेको र त्यसका लागि ज्ञानेश्वरको १३ आना जग्गा राखिएको छ, जसको बजार मूल्य १२ करोड बराबरको छ ।
मेगा बैंकमा २० करोड जति लोन रहेको र १ करोड ५० लाख जति ब्याज रहेको छ । त्यसका लागि कालिमाटीको २२ आना जग्गा, २ वटा अपार्टमेन्टसहित गरेर २३ करोड रुपैयाँ जतिको सम्पत्ति त्यहाँ राखिएको छ ।
यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकमा २८ करोड ५० लाख रुपैयाँ ऋण रहेको र १ करोड ५० लाख जति ब्याज बाकी रहेको छ । त्यसका लागि ३३ करोड जतिको सम्पत्ति धितो राखिएको जानकारी दिए ।