काठमाडौं । करोडौ रुपैयाँ उद्यारो नतिरेपछि शिवम सिमेन्ट लिमिटेड आधा दर्जन वितरक विरुद्ध अदालत पुगेको छ । वितरक विरुद्ध शिवम सिमेन्टले जिल्ला अदालत काठमाडौंमा बेग्लाबेग्लै ६ वटा मुद्धा दायर गरेको हो ।
कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा विभिन्न आधा दर्जन वितरकबाट १ करोड ५१ लाख २८ हजार रुपैयाँ उधारो उठ्न बाँकी रहेको जानकारी दिएको छ ।
शिवमले राजधानीको बालाजुमा रहेको वितरक सृष्टि एन्ड प्रफुलले सिमेन्ट उधारोमा लगेर चेक दिएको थियो । सो चेक पनि बाउन्स भएपछि जिल्ला अदालत काठमाडौंमा चेक अनादरमा मुद्धा दायर गरेको छ । कम्पनीले वितरक सृष्टिबाट २२ लाख ९० हजार ९४३ रुपैयाँ असुली गर्न बाँकी रहेको जानकारी दिएको छ ।
यसैगरी गौतमबुद्ध क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थाको ठेकेदार चीनको नर्थवेस्ट सिभिल एभिएसन ग्रुप कम्पनी लिमिटेडले पनि सिमेन्ट किनेर भुक्तानी गर्दा अग्रिम आयकर कट्टि गरेको तर सो रकम आन्तरिक राजस्व कार्यालयमा दाखिला गरी भौचर उपलब्ध नगराएको भन्दै चिनियाँ कम्पनीविरुद्ध शिवमले अदालतमा मुद्धा दायर गरेको छ ।
नर्थवेस्टले शिवमलाई २० लाख ९ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यस्तै एएसी लाइट बिक्र्स प्रालिले उधारोमा सिमेन्ट लगेर भुक्तानी गर्न बाँकी रहेको २० लाख ८८ हजार असुलीका लागि अदालतमा फिरादपत्र दायर गरेको कम्पनीले जानकारी गराएको छ ।
उधारोमा सिमेन्ट लगेर भुक्तानी नगर्ने अनुप ट्रेडिङ विरुद्ध मुद्धा विचारधिन रहेको छ । अनुपले उधारोमा सिमेन्ट लगेवापत शिवमलाई ५५ लाख रुपैयाँ बुझाउन बाँकी छ ।
पोखरामा रहेको वितरक डीएस हार्डवयर सेन्टरले पनि ४ लाख ४४ हजार, न्यू एसएस हार्डवयर एन्ड सप्लायर्स २ लाख ९० हजार रुपैयाँ तिर्न बाँकी रहेको छ । यी दुई वितरक विरुद्ध पनि अदालतमा मुद्धा चलिरहेको कम्पनीले जनाएको छ ।
नवदुर्ग कन्ट्रक्सन कम्पनीले पनि सिमेन्टको भुक्तानी गर्न बाँकी रहको छ । उसले १३ लाख ३ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने दाबी शिवमको छ ।
शिवमले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा ४२ करोड ७३ लाख रुपैयाँ खुदनाफा गरेको छ ।