काठमाडौं । निजी डेरी उद्योगहरुले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्ने भएका छन् । नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले शुक्रबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी दूधको प्रतिलिटर १० रुपैयाँले बढाएको घोषणा गरेका हुन् ।
अब प्रतिलिट दूधको मूल्य ८६ रुपैयाँ पुगेको छ । दुग्ध विकास संस्थान (डीसीसी) ले दूधको भाउ बढाएको भोलिपल्ट निजी डेरीले वृद्धिको घोषणा गरेका हुन् ।
प्रशोधित दूधको प्रतिलिटर बजार मूल्य ७६ रुपैयाँ थियो भने ५०० एमएलको एक प्याकेटको मूल्य ३८ रुपैयाँ थियो । अब पाँच सय एमएलको एक प्याकेटको खुद्रा बिक्री मूल्य ४३ रुपैयाँ कायम भएको छ।
बुधबार मात्र डीडीसीको सञ्चालक समितिले दूधको मूल्य ९ रुपैयाँले बढाएर ८५ रुपैयाँ पुर्याएको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ७६ रुपैयाँ थियो । निजी क्षेत्रले बढाएको दूधको मूल्य फाल्गुन १ गतेदेखि लागू हुनेछ ।
डीडीसीले वृद्धि गरेको मूल्य प्रति प्याकेज ४२ रुपैयाँ ५० पैसा पर्ने र त्यो दर अवैज्ञानिक भएको भन्दै डीडीसीले प्रतिप्याकेट आधा लिटरको दुधको मूल्य ४३ रुपैयाँ पुर्याएको छ ।
तर, निजी क्षेत्रले किसानको मूल्य भने डीडीसीले भन्दा धेरै दिने निर्णय गरेको छ । किसानले पाउने मूल्यमा प्रतिलिटर ६२ रुपैयाँ कायम गरेको डीडीसीले बताएको छ । किसानलाई दिने यो मूल्य भने चितवनलाई आधार मानेर तय गरिएको छ ।
सबैको सिफारिसमा तय गरिएको १० रुपैयाँको मूल्य वृद्धिलाई अवज्ञा गरी मनोमानी ढंगबाट ९ रुपैयाँले डीडीसीले बढाएको कारण आफूहरुले सिफारिस गरेकै रेटमा मूल्य कायम गरेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताएका छन् ।