म्याग्दी । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले चालू आर्थिक वर्ष २०७८/७९ मा ३ वटा कार्यक्रममार्फत ५१ वटा पशुपन्छी फार्मलाई अनुदान उपलब्ध गराउने भएको छ ।
साना पशुपन्छी तथा मत्स्य व्यवसाय फार्म विस्तार तथा स्थापना गर्न ४०, नयाँ मत्स्य पोखरी निर्माणका लागि ७ र माछा मासु तथा डेरी पसल निर्माण सुधारका लागि ४ वटा फार्म छनौट भएका हुन् । केन्द्रबाट उनीहरूले ५८ लाख ५० हजार रुपैयाँ अनुदान पाउने भएका छन् ।
केन्द्रका सूचना अधिकारी तथा पशुसेवा प्राविधिक सुभास रेग्मीले छनौट भएका ५१ वटा फार्मका सञ्चालकसँग अनुदान उपलब्ध गराउने सम्झौता गरिसकेको जानकारी दिए । 'सार्वजनिक सूचना जारी गरेर प्राप्त भएको आवेदनको स्थलगत मूल्यांकन गरी कार्यविधिअनुसार छनौट र सम्झौता गरिएको हो', उनले भने, 'कुल लागतको ५० प्रतिशत अनुदान उपलब्ध गराउने र आधा रकम सञ्चालकले बेहोर्नुपर्ने सम्झौता छ ।'
कुल ५२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको साना पशुपन्छी फार्म विस्तार तथा स्थापना कार्यक्रमका लागि १५८ वटा आवेदन परेका थिए । २ लाख बजेट विनियोजन भएको नयाँ मत्स्य विकास कार्यक्रम र ४ लाख बजेट रहेको माछा मासु तथा डेरी पसल निर्माण सुधार कार्यक्रममा ८/८ वटा आवेदन परेका थिए ।
बाख्रा, गाईभैंसी, बंगुर, कुखुरापालनका पुराना फार्मको क्षमता विस्तार र नयाँ फार्म स्थापना गर्न १ लाख ३२ हजार २५० का दरले अनुदान पाउने केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताए । नयाँ मत्स्य पोखरी निर्माणका लागि ५० हजारका दरले र मासु, डेरी पसलले १ लाखका दरले अनुदान पाउने भएका छन् ।
दूध, माछा, अन्डा उत्पादन बढाएर आत्मनिर्भर बनाउने र पशुपालनतर्फ आकर्षण बढाउन गण्डकी प्रदेश सरकारको योजनाअनुसार अनुदान दिन लागिएको हो ।
छनौट भएका सबै फार्मका सञ्चालकलाई अभिमुखीकरण गरिएको थियो । बाँकी कार्यक्रमका लागि पुन सूचना आव्हान गरिएको केन्द्रले जनाएको छ ।