काठमाडौं । पाँचथरमा निर्माणाधीन ९.९ मेगावाटको इवाखोला जलविद्युत् आयोजनाले भदौ २२ देखि व्यावसायिक विद्युत् उत्पादन थाल्दै छ । सम्झौता अवधिको झन्डै १४ महिना ढिला गरी आयोजनाले विद्युत् उत्पादन सुरु गर्न लागेको हो ।
जलविद्युत् आयोजनाको सम्पूर्ण काम सम्पन्न गरी केही दिनअघि उत्पादन परीक्षण गरिसकेको र अब व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने आयोजना प्रमुख कुवेरमणि नेपालले जानकारी दिए । प्रसारण लाइन निर्माण हुन नसक्दा आयोजना पनि झन्डै १४ महिना ढिला गरी सम्पन्न गरेको नेपालले बताए ।
२०७३ मङ्सिरमा आयोजनाको निर्माण सुरु भएको थियो । सम्झौताअनुसार २०७५ जेठमा निर्माण सम्पन्न गर्नुपर्ने भएपछि कोबेली करिडोर प्रसारण लाइन नबनेकाले पनि ढिलाइ भएको आयोजनाले जनाएको छ ।
पाँचथरको यामबरक गाउँपालिकामा आयोजनाको साइट रहेको आयोजनाको सिभिलतर्फ मकालु डेभलपर कम्पनी र हाइड्रो मेकानिकलतर्फ इन्ड्रिज हाइड्रोपावर कम्पनीले ठेक्का लिएर निर्माण गरेका थिए । उत्पादित विद्युत् अमरपुर सबस्टेशनमा जोडिनेछ । अहिले आयोजनाबाट अमरपुर सबस्टेसनसम्म जोड्ने १० किलोमिटर प्रसारण लाइन निर्माण पनि सम्पन्न भइसकेको छ ।
नेपाल विद्युत् प्राधिकरणबाट २०७० सालमा विद्युत् खरिद सम्झौता (पीपीए) भएको आयोजनाले काबेली करिडोर प्रसारण लाइनमा जोडिनेछ । केही समयअघि काबेली करिडोर प्रसारण लाइनको तेस्रो खण्ड सम्पन्न भई प्रसारण लाइन आयोजना सम्पन्न भइसकेको छ ।
२५ करोड रुपैयाँ लागत बढ्यो
ठेक्का सम्झौताबमोजिम प्रारम्भिक १५६ करोडमा लागत अनुमान गरिएको आयोजनामा १४ महिना ढिलाइ हुँदा २५ करोड रुपैयाँ लागत बढेको आयोजनाले जनाएको छ । कुल १ अर्ब ८१ करोड रुपैयाँ निजी क्षेत्रको लगानीमा आयोजना पूरा भएको हो । आयोजनाको प्रवद्र्धक रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडको ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत बैङ्क ऋण लगानी रहेको छ । इवाखोला जलविद्युत्बाट उत्पादित विद्युत्को परमेगावाट १८ करोड रुपैयाँ लागत पर्न जाने देखिन्छ ।