काठमाडौं । रोयल्टी नतिर्ने क्यासिनो र होटलविरुद्ध संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले ‘एक्सन’ मा उत्रिएका छन् ।
बुधबार साँझ दरबारमार्गमा रहेको पाँचतारे होटल याक एन्ड यतीको कारोबार रोक्का गरी रोयल क्यासिनोको लाइसेन्स नै रद्ध गराएका मन्त्री आलेले फेरि एउटा मिनी क्यासिनो र होटल बन्द गराएका छन् ।
ह्याप्पी आवर प्रालिले पर्यटन मन्त्रालयबाट २०६७ भदौ २० गते भिडियो गेम, आधुनिक मेसिन उपकरणद्वारा कार्ड, चिप्स, क्वाइन र क्यास प्रयोग गरी पर्यटकहरुलाई मनोरञ्जन प्रदान गर्न व्यावसिक खेल खेलाउने अनुमति लिएको थियो ।
तर, उक्त खेल सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुरलगायतको रकम कानुनबमोजिम नतिरेका कारण कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत कसिएको तथा विभागको अभिलेखमा आर्थिक वर्ष २०७६/०७७ सम्मको बाँकी बक्यौता र आर्थिक वर्ष २०७७÷०७८ को इजाजतपत्र नवीकरण दस्तुर, आर्थिक वर्ष २०७८/०७९ को रोयल्टी तथा नवीकरण दस्तुरसमेत गरी ३८ करोड ४५ लाख ६६४ रुपैयाँ ३८ पैसा तिर्न बाँकी रहेको उल्लेख छ ।
पर्यटन विभागले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै होटल र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेल सञ्चालन बन्द गर्न सर्कुलर जारी गरेको छ ।
विभागबाट स्तर वर्गीकरण नै नभएको नेपालगन्ज उपमहानरपालिका वडा नं १० मा रहेको ड्रिमल्यान्ड होटल प्रालिमा आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेल खेलाइएको भन्ने बुझिन आएकाले उक्त होटल र खेल बन्द गर्ने मन्त्रीस्तरीय निर्णय भएको निर्देशक मोहनबहादुर जिसीले जानकारी दिए ।
मन्त्रीस्तरीय निर्णयअनुसार अबउप्रान्त उक्त होटल र त्यसमा सञ्चालन खेलाइने खेल सञ्चालन नगर्ने÷नगराउने व्यवस्था गर्नसमेत अनुरोध गरेको छ ।