म्याग्दी । जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजारमा नदी नियन्त्रण योजना सुरु भएको छ ।
मालिका गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण सुरु भएको हो । १ करोडभन्दा बढीको लगानीमा दरबाङ बजार संरक्षण योजना सुरु गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए ।
‘दुइटा प्याकेजमा काम सुरु भएको छ’, उनले भने, ‘बर्खा अघिनै चैत महिनाभित्र नदी नियन्त्रणको काम सक्ने लक्ष्य सहित ठेकेदार परिचालन भएका छन् ।’ गाउँपालिकाले यसका लागि चालू आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । प्रतिस्पर्धाका आधारमा कार्यशक्ति कन्ट्रक्सन काठमाडौंले ६४ लाखमा ठेक्का सम्झौता गरेको छ ।
गाउँपालिकाका इन्जिनियर नमोनारायण ढुंगानाले ५६ मिटर लामो र ७ मिटर अग्लो आरसिसी पक्की पर्खाल निर्माण गर्न लागिएको बताए । गत मंसिर २८ गते सम्झौता गरेका ठेकेदारले नदी किनारमा पर्खाल निर्माणका लागि खोलाको पानी डाइभर्सन गरेर जग खन्न सुरु गरेका छन् ।
गत वर्ष हिमालयन बिल्डर्स एन्ड कन्ट्रक्सनले ५६ लाखमा ठेक्का लिएको ४२ मिटर लामो र ७ मिटर अग्लो आरसिसी पर्खाल निर्माण गर्ने योजनालाई पनि यसै वर्ष पूर्णता दिन म्याद थप भएको छ । सो योजनाका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन भएकामा हिमालयन बिल्डर्सले ५६ लाखमा ठेक्का स्वीकार गरेको थियो ।
गत असार १ गते म्याग्दी नदीमा बाढी आएपछि पर्खाल निर्माणको काम रोकिएको थियो । निर्माणाधीन पर्खालमा क्षति पु¥याएको बाढीले बजारतर्फ कटान गरेर एउटा घर, जनप्रिय माविको भवन र खेलमैदान भत्किएको थियो । थप कटान हुन नदिन म्याग्दी नदी किनारको जोखिमयुक्त सबै भागमा पक्की पर्खाल निर्माण गर्न लागिएको वडाध्यक्ष सन्तोष सुवेदीले बताए ।
आर्थिक वर्ष २०७६÷७७ मा मालिका गाउँपालिकाको ५५ लाख रुपैयाँ र संघीय सांसद भूपेन्द्रबहादुर थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत २५ लाखको बजेटबाट उपभोक्ता समितिमार्फत ४५ मिटर लामो, ७ मिटर अग्लो र ५० सेन्टिमिटर बाक्लो आरसिसी पक्की पर्खाल निर्माण भएको थियो । करिब तीन सय घरधुरीको बसोबास रहेको दरबाङ बजार पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको कटानको जोखिममा छ ।
विसं २०७६ सम्म हिउँदमा ग्याबीयन पर्खाल निर्माण गर्ने र बर्खामा बाढीले बगाउने समस्या थियो । २०७७ मा निर्माण भएको आरसिसी पर्खाल कटान रोकथाममा प्रभावकारी बनेपछि सोही प्रविधिको पर्खाल बनाउने योजनालाई निरन्तरता दिएको वडाध्यक्ष सुबेदीको भनाइ छ ।