काठमाडौं । सेयर बजारबाट हुने आम्दानीभन्दा क्रिप्टोलगायत भर्चुअल करेन्सीबाट हुने आम्दानी बढी हुने भएपछि लगानीकर्ताले सेयर बचेर क्रिप्टोतिर लगानी गरेको आंशका सरकारले गरेको छ ।
छोटो समयमै शतप्रतिशत आम्दानी गर्न पल्किएकाहरु सेयर बजारले २० प्रतिशतको पनि रिटर्न छाडेपछि उनीहरुको आकर्षण क्रिप्टोतिर भएको हुन सक्ने देखिएको हो ।
विगत केही समयदेखि मध्यमस्तरका लगानीकर्ताले सेयर बेचेर आएको रकम क्रिप्टोमा लगानी गरिरहेको खुलेको हो । राजस्व अनुसन्धान विभागका अनुसार भर्चुअल करेन्सीमा सेयर बजारका लगानीकर्ताको लगानी ठूलो रहेको हुन सक्ने आंशका छ ।
मध्यम खाले लगानीकर्तालाई जतिसक्दो छिटो पैसा कमाउनुपर्ने ‘भूत’ चढेको छ । तर, सेयर बजारबाट सन्तोषजनक आम्दानी हुन छाडेकाले उनीहरुले लगानी क्रिप्टोतिर डाइर्भट गरेका हुन सक्ने बुझिएको छ ।
विभाग स्रोतका अनुसार, यसरी सेयर बजारको पैसा सेयर बजारमै पुनः लगानी नभई अन्यत्र गइरहेको देखिएको छ । यदि सेयर बेचेर धमाधम त्यो रकम क्रिप्टोतिर लगानी भएको खण्डमा त्यसले सेयर बजारलाई समेत प्रभावित बनाउने धितोपत्रका जानकारहरु बताउँछन् ।
सेयर बजारमा लगानी गर्ने लगानीकर्ता संगठित छन् । उनीहरुबीच लगानी र प्रतिफलका बारेमा निरन्तर छलफल हुन्छ । कुन क्षेत्रमा लगानी गर्दा कुन तहको प्रतिफल आउँछ भन्नेमा उनीहरुको चासो सधैंभरि हुन्छ ।
क्रिप्टोमा लगानी गर्दा जोखिम उच्च भए पनि प्रतिफल पर्याप्त हुन्छ भन्नेमा लगानीकर्ताहरु सहमत छन् । सोही कारण उनीहरुले सेयर बेचेर त्यहाँबाट आएको रकम क्रिप्टोमा लगानी गरेको आंशका सरकारी एजेन्सीले गरेको हो ।
यस्तै केही ब्रोकरका अनुसार, धेरै लगानीकर्ताले सेयर बेचेर आएको रकम क्रिप्टोतिर लगानी गरेका छन् ।