काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलसहित २ जना सञ्चालक सदस्यलाई निकाल्ने उपाय खोज्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपसचिवको नेतृत्वमा अध्ययन समिति बनाएको छ ।
पर्यटनमन्त्री प्रेम आले र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पटक– पटक महाप्रबन्धक पौडेलसहित फुर्वा गेल्जे शेर्पा र ईश्वरी पौडेललाई सञ्चालक समितिबाट राजीनामा दिएर बाटो खुलाउन दबाब दिए पनि उनीहरुले अटेर गरेपछि कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाएको हो ।
पर्यटनमन्त्री आले र कार्यकारी अध्यक्ष अधिकारीलाई ३ जना सदस्यहरु टाउको दुखाइ बनिरहेका बेला उनीहरुलाई निकाल्ने तयारीस्वरुप अध्ययन समिति गठन भएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
मन्त्रालयले प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेलको संयोजकत्वमा पर्यटन प्रवद्र्धन शाखाका उपसचिव राजेश उप्रेती र कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा सम्मिलित ३ सदस्यीय समिति बनाएको हो । समितिलाई मन्त्रालयले विभिन्न ९ बुँदामा मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टिओआर) दिएको बताइएको छ ।
मन्त्रालयले दिएको मापदण्डमा निगमका महाप्रबन्धक नियुक्तिदेखि नयाँ सदस्यहरु नियुक्ति र भएकालाई कारबाहीका लागि समेत अध्ययन गर्न भनिएको छ । यस्तै निगमभित्र कर्मचारीले गरेको आन्दोलनको अध्ययनसमेत सो उपसमितिले गर्नेछ ।
केही समयअघि निगममा कर्मचारीहरुले करिब ३ महिना लामो आन्दोलन गरेका थिए । उनीहरुले निगमलाई कम्पनी मोडलमा लैजाने प्रस्ताव अघि बढाएको भन्दै महाप्रबन्धक पौडेललाई बर्खास्ती र हस्ताक्षर गर्ने सञ्चालक समितिका सदस्यहरुलाई निकाल्नुपर्ने माग राखेका थिए ।
पर्यटन मन्त्रीमा आले नियुक्त भएसँगै कर्मचारीहरुसँग भद्र सहमति गरी महाप्रबन्धक पौडेललाई बर्खास्ती गर्ने र सञ्चालक समितिका सदस्यलाई पनि हटाउने भनिएको थियो ।
तर, मन्त्री आलेले महाप्रबन्धक पौडेलको जिम्मेवारी खोसेर कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गरे पनि सञ्चालकहरुलाई भने कुनै कारबाही गरेका थिएनन् । आन्दोलनरत कर्मचारीहरुले भने कम्पनी मोडलमा लैजाने मस्यौदा बनाएका सबै सदस्यहरुलाई हटाउन माग गर्दै आएका छन् ।
कार्यकारी अध्यक्ष अधिकारी नियुक्त भएको ३ महिना पुगिसक्दासमेत पूर्णरुपमा सञ्चालक समितिको बैठक बस्न सकेको छैन ।
सार्वजनिक रुपमै कम्पनी मोडलमा लैजाने मस्यौदामा हस्ताक्षर गर्नेहरुलाई बर्खास्ती गर्नुपर्ने प्रस्ताव राख्दै आएका अध्यक्ष अधिकारीले मस्यौदा बनाउने संयोजक किशोर प्रधानलाई भने यथावत् राखेका छन् ।
उनलाई केही समयअघिको बैठकमा समेत संरक्षण दिएर निगम कार्यालयमा प्रवेश गराए पनि अन्य ३ जना सञ्चालकलाई भने कर्मचारीलाई अघि सारेर प्रवेशमा रोक लगाएको थियो ।
निगमको केन्द्रीय कार्यालयमा बैठकका लागि ३ जना सञ्चालक सदस्यहरु पुगे पनि भित्र प्रवेश गर्ने वातावरण नभएको भन्दै उनीहरु मूलगेटबाट फर्किएका थिए ।
उनीहरुले बैठकमा प्रवेश गर्ने वातावरण नभएको भन्दै विज्ञप्ति जारी गर्दै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
सञ्चालक समितिका सदस्यसमेत रहेका महाप्रबन्धक पौडेलसहितका २ सदस्यले निगमको हरेक काममा भाँजो हालेको र अनिर्णयको बन्दी बनाएको भन्दै मन्त्रालय असन्तुष्ट बनेको थियो ।
एक साताअघि मात्र निगमका कर्मचारी संघ–सगठनका प्रतिनिधिहरुसहित कार्यकारी अध्यक्ष अधिकारीले पर्यटनमन्त्री आले र सचिव महेश्वर न्यौपानेसँग भेट गरेका थिए । भेटमा उनीहरुले निगमको समस्या तत्कालै समधान गरी काम गर्ने वातावरण सिर्जना गरिदिन ध्यानाकर्षण समेत गराएका थिए ।