काठमाडौं । अटोमोबाइल व्यवसायीहरुले चालू पुँजीकर्जा मार्गदर्शन २०७८ को मस्यौदामा निजी सवारी साधनको ‘हायर पर्चेस’ लोन प्रवाह गर्ने प्रकियामा ‘लोन टु भ्याल्यु रेसियो’ को हालको सीमालाई ५० प्रतिशतबाट वृद्घि गरी ८० प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंकसँग अनुरोध गरेको छ ।
राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँगको भेटघाटमा नाडाको प्रतिनिधिमण्डलले त्यस्तो अपिल गरेको हो । यसै गरी हालै राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा सवारी साधनहरु आयातका लागि एलसी खोल्दा न्युनतम मार्जिनको सीमा १० प्रतिशतबाट वृद्धि गरी ५० प्रतिशत पुर्याएको सन्दर्भमा यस्तो व्यवस्थाले सवारी साधनहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधनको मूल्यसमेत बढ्न गई उपभोक्तालाई समेत असर पर्ने भन्दै उक्त मार्जिनलाई १० प्रतिशतमै कायम गर्न नाडाले माग राखेको छ ।
यसै क्रममा नाडा उपाध्यक्ष श्रेष्ठले एलसी मार्जिनका लागि राखेको धितो रकममा बैंकले व्यवसायीहरुलाई ब्याजसमेत दिने व्यवस्थाका लागि समेत अनुरोध गरेका छन् ।
नाडाले आफूसम्बद्ध मन्त्रालय तथा विभागसँगको भेटघाट तथा छलफललाई अघि बढाउने क्रममा भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई भेटी भन्सार मूल्यांकन, भन्सार प्रक्रियाका सन्दर्भमा देखिएका समस्यालगायत ७० औं विश्व भन्सार दिवसलाई कसरी प्रभावकारी रुपमा अघि बढाउने भन्ने विषयमा समेत छलफल गरेकोे जनाएको छ ।
यसै क्रममा नाडा प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेटघाट गरी करसम्बन्धी तालिम सम्पन्न गर्ने, बिक्रीको बिलिङ पनि एचएस कोडमै गरिनुपर्ने लगायतका विभिन्न विषयमा छलफल भएको नाडाले जनाएको छ ।
नाडाले यसै माघ महिनादेखि सम्बद्ध मन्त्रालय तथा विभागसँगको भेटघाट तथा छलफललाई तीव्रता दिँदै आएकोे जनाएको छ । नाडा प्रतिनिधिमण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठलाई भेटी एजेन्सी, फर्म दर्ता एवं नवीकरणलगायत आधिकारिक बिक्रेताले मात्र अटोमोबाइल वस्तुहरु आयात गर्न पाउने व्यवस्थाबारे छलफल गर्दै सो सम्बन्धमा पत्रसमेत बुझाएको छ ।
भेटघाटलाई निरन्तरता दिने क्रममा नाडा प्रतिनिधिमण्डलले उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई भेटी नेपालमा सवारी साधनको ऐसेम्बली प्लान्ट स्थापना, त्यसको प्रक्रिया र व्याख्याबारे धेरै अन्यौलता भएकाले त्यसमा स्पष्टताका लागि नाडाले अनुरोधसमेत गरेको जनाएको छ ।
त्यस्तै नाडा प्रतिनिधिमण्डलले २०७८ माघ ७ गते यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेसँग भेटघाट गरेको छ । भेटघाटमा सवारी साधनको इम्बोस्ड नम्बर प्लेट, भारतबाट सवारी साधन पैठारी गर्दा ६÷६ महिनामा सीओपी बुझाउनुपर्ने व्यवस्थालगायत सरकारले हालै ल्याउन लागेको नेपाल सवारी साधन प्रदूषण मापदण्ड बीएस सिक्सको विषयमा विस्तृत छलफल भएको नाडाले जनाएको छ ।
त्यसै गरी सोही दिन नाडाको एक प्रतिनिधिमण्डलले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख उमेशराज जोशीसँग पनि द्विपक्षीय सम्बन्ध विस्तारबारे विस्तृत छलफल गरेको छ ।
सबै छलफल तथा भेटघाट कार्यक्रममा नाडाका पदाधिकारीहरुलगायत सम्बन्धित समितिका सभापतिहरुको उपस्थिति रहेको नाडाले जनाएको छ ।