काठमाडौं । बुधबार २८०० बिन्दु छुँदै सेयर बजार केही माथि उक्लिएर बन्द भएको छ । २ बजेर ३४ मिनेटमा २८०० बिन्दुमा आइपुगेको सूचक बजार बन्द हुँदा २२.११ अंकले घटेर २८१३.४७ अंकमा चढी बन्द भएको हाे । यसले बिहीबार बजार सामान्य बढ्ने संकेत गरेको छ ।
बजार निरन्तर ओरालो लागेर बन्द भएको भए बिहीबार माथि उठ्न सक्ने सम्भावना कम हुन्थ्यो । तर, न्यून बिन्दुबाट केही उक्लिएर बन्द भएकाले बिहीबार सकारात्मक सन्देश दिने अपेक्षा गरिएकाे छ ।
ठूला लगानीकर्ताका अनुसार बजार २८०० र त्यसकै वरिपरि ३ दिनसम्म रोकिए सूचक बजारले माथिल्लो अंक बनाउन सक्ने देखिन्छ । तर, बजार २८०० बाट पनि तलतिर झर्यो भने फेरि २७०० सम्म बजार आइपुग्न सक्ने आँकलन गरिएको छ ।
सूचक घटेसँगै कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । विगत केही दिनयता सूचक घट्ने तर कारोबार घटबढ भइरहेको थियो । मंगलबार दोहोरो अंकले सूचक घट्दा कारोबार अघिल्ले दिनको तुलनामा बढेको थियो । तर, बुधबार कारोबार ३ अर्ब ४७ करोड रुपैयाँमा सीमित भएको छ ।
बजारमा लगानीयोग्य रकमको अवस्था नसुध्रिए सेयर बजारमा खासै चमक आउने देखिँदैन । सरकारले चुनाव घोषणा गर्नेबित्तिकै सेयर बजार सकारात्मक दिशातर्फ अघि बढ्ने आँकलन गरिएको थियो । तर, विगतका प्रवृत्तिहरू अध्ययन गर्दा निर्वाचनताका बजार बढे/घटेको दुवै उदाहरण छन् । बजार सधैं एउटै सीधा र सरल रेखामा मात्र हिँड्दैन भन्ने कुरा आम लगानीकर्ताले पनि मनन गर्नुपर्ने हुन्छ ।
सरकारले तोकेकै मितिमा निर्वाचन भए बजारमा पैसा निस्किन सक्छ । त्यसले चर्किंदो तरलता अभावलाई कम गर्न मद्दत पुर्याउने लगानीकर्ताहरू बताउँछन् । कारणा, दल र उम्मेदवारहरूले पर्याप्त खर्च गर्ने भएकाले बजारमा तरलता वृद्धि हुनेछ । यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने विश्लेषकहरू बताउँछन् ।
बुधबार २० कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्यमा गिरावट आएको छ । यस दिन लिवर्टी हाइड्रोको ३.८ प्रतिशत मूल्य बढेको छ । यस दिन सबैभन्दा बढी अरुण भ्यालीको १८ करोड ६१ लाखबराबरकाे कारोबार भएको छ ।