काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आज बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता साधारण शेयर कर्मचारीकम लागि सुरक्षित गरी बाँकी रहने पाँच लाख १६ हजार ७०८ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।
निष्काशित सेयरमा सर्वसाधारणले आगामी फागुन १ गतेसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । तोकिएको अवधिसम्म मागबमोजिम आवेदन नआए फागुन ११ गतेसम्म सेयर निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ ।
राष्ट्रिय प्राथमिकताका क्षेत्रअन्तर्गतका पूर्वाधारको विकास, यातायात, सञ्चार, ऊर्जा, पर्यटन, उद्योग, स्वास्थ्य, कृषि, वित्तीय र अन्य आर्थिकरूपमा महत्व भएका योजनामा लगानी गर्ने उद्देश्य भएको कम्पनीको हाल चुक्ता पूँजी ५० करोड ४० लाख छ । आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।
धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आइआर बिबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ । रासस