काठमाडौं । क्रिप्टोकरेन्सी र हाइपर फण्डजस्ता नेटवर्किङ कारोबार बढेपछि नेपाल राष्ट्र बैंकले यस्ता व्यवसायमा लगानी नगर्न सर्वसाधारणलाई सचेत गरेको छ ।
पछिल्ला दिनहरुमा नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको पाइएपछि केन्द्रीय बैंकले आज एक सार्वजनिक सन्देशमार्फत त्यस्ता कारोबार र गतिविधि देशको अर्थतन्त्रका लागि मात्र नभई लगानी गर्नेका लागि पनि जोखिम रहेको जनाएको छ ।
राष्ट्र बैंकले व्यवसायमा आबद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुने तथा कानुनी झन्झट आउन सक्ने भएकोले यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन भनेको हो ।
पछिल्लो दशकमा विश्वव्यापी रूपमा क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार बढ्दै गएपछि स्वदेश तथा विदेशमा रहेका नेपालीहरू पनि यसको कारोबार वा यससँग सम्बन्धित लगानीमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको केन्द्रीय बैंकले जनाएको छ ।
छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्किङ व्यवसायमा आबद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम भएको केन्द्रीय बैंकले जनाएको छ ।
क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेषगरी ठगी तथा कर छलीलगायतका कार्य हुन सक्ने उल्लेख गर्दै केन्द्रीय बैंकले एउटा निजी फर्मको अनुसन्धानले सन् २०२० मा आपराधिक बिटक्वाइन ठेगनाबाट मात्र ३ अर्ब ५० करोड डलर पठाएको पाइएकाले नेटवर्किङ मार्केटिङको व्यवसाय पनि अवैधानिक आर्थिक क्रियाकलाप भएकाले राजस्वमा नकारात्मक असर पर्ने उल्लेख गरेको छ ।
यसको प्रकृति नै गैर नियमन भएकाले धेरै सचेत रहन नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ । क्रिप्टोकरेन्सीको कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानीसम्बन्धी उच्च जोखिम हुने देखिन्छ भन्दै केन्द्रीय बैंकले त्यस्तो कारोबारबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा लगानीसम्बन्धी जोखिमबारे एफएटीएफले जुन २०१४ मा नै प्रतिवेदन प्रकाशन गरेको स्मरण गराएको छ ।
नेपालमा क्रिप्टोकरेन्सी कारोबारलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको मुद्रा वा विदेशी मुद्रा वा विदेशी विनिमयको मान्यता नदिइएकोले यसलाई भुक्तानी गर्न, सटही गर्न वा मौद्रिक उपकरणको रूपमा प्रयोग गर्न बन्देज लगाइएको राष्ट्र बैंकले जनाएको छ । नेपालमा कानुनी अभावका कारण हालसम्म क्रिप्टोलाई डिजिटल सम्पत्तिको रूपमा मान्यता दिइएको छैन ।
कुनै प्रयोगकर्ता वा कारोबारसँग सम्बन्धित समस्या वा विवाद भएमा लगानीकर्तासँग खास नियामकीय वा कानुनी उपचार नरहने देखिएको छ । अन्य व्यक्तिमार्फत लगानी गरेको खण्डमा रकम फिर्ता नभई ठगिने र आफ्नो लगानी डुबेर क्षतिपूर्ति नपाइने अवस्था आउन सक्नेतर्फ केन्द्रीय बैंकले सचेत गराएको छ ।
क्रिप्टोकरेन्सी विदेशस्थित विभिन्न एक्सचेन्जमा डिजिटल सम्पत्तिको रूपमा अमेरिकी डलरजस्ता फियात करेन्सीमा किनबेच हुने भएकाले विदेशबाट त्यस्तो क्रिप्टोकरेन्सी खरिद गर्दा विदेशी मुद्रा अपचलन हुने तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ समेत उल्लङ्घन हुने राष्ट्र बैंकले स्पष्टपारेको छ ।
बैंक खाता, इलेक्ट्रोनिक कार्ड वा भुक्तानी सेवा प्रदायकको ई–वालेट, मोबाइल एप तथा इन्टरनेटमार्फत भुक्तानी गरी त्यस्तो डिजिटल सम्पत्ति खरिद गर्ने कार्यसमेत गैरकानुनी रहेको जानकारी केन्द्रीय बैंकले दिएको छ ।
नेपालमा कानुनी अभावका कारण हालसम्म क्रिप्टोकरेन्सीलाई डिजिटल सम्पत्तिको रूपमा मान्यता दिइएको छैन । कुनै प्रयोगकर्ता वा कारोबारसँग सम्बन्धित समस्या वा विवाद भएमा लगानीकर्तासँग खास नियामकीय वा कानुनी उपचार नरहेको केन्द्रीय बैंकले जानकारी गराएको छ ।
अन्य व्यक्तिमार्फत लगानी गरेको खण्डमा रकम फिर्ता नभई ठगिने र आफ्नो लगानी डुबेर क्षतिपूर्ति नपाइनेअवस्था आउन सक्ने भन्दै राष्ट्र बैंकले सचेतसमेत गराएको छ । क्रिप्टो करेन्सीको मूल्यमा उच्च उतारचढाव हुने देखिएको र यो विशेष गरेर सट्टेवाजी गर्ने लगानीकर्ताले किनबेच गर्ने देखिएको हुँदा यसमा लगानी गर्नु अत्यधिक जोखिमपूर्ण देखिएको ठहर राष्ट्र बैंकले गरेको छ ।
२०२१ नोभेम्बरदेखि २०२२ जनवरीसम्मको अवधिमा बिटक्वाइनको मूल्यमा ४० प्रतिशतले गिरावट आएको पाइएको छ । त्यसैले यस्तो लगानीमा छोटो अवधिमा नै उच्च घाटा हुने सम्भावना रहेको केन्द्रीय बैंकले औंल्याएको छ । क्रिप्टोसँग सम्बन्धित लगानी आतङ्कवादी क्रियाकलापमा प्रयोग हुन सक्ने र आपराधिक गतिविधिबाट प्राप्त सम्पत्ति शुद्धीकरण गर्न तथा कर छलीका लागि प्रयोग गर्ने माध्यम हुने गरेको देखिएको अनुसन्धानबाट खुलेको छ ।
विदेशमा बसोबास गर्ने नेपालीलाई समेत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ आकर्षित हुने भएकाले विदेशमा लगानी गर्नका लागि नेपालबाट पुँजी रकम लैजान वा नेपालमा बस्ने आफन्त तथा साथीभाइबाट पैसा मागी उनीहरूलाई विदेशमा लगानी गर्न सहजीकरण गर्ने कार्य गैरकानुनी तथा दण्डनीय रहेको राष्ट्र बैंकले प्रष्टपारेको छ ।
आफूलाई मार्केटिङ कम्पनी भनेर दावी गर्ने तर पिरामिड स्किमको मोडेलमा सञ्चालन भएको हुनसक्ने भएकोले नेटवर्क व्यवसायमा आबद्ध हुने ग्राहकहरू ठगीमा पर्न सक्ने देखिन्छ । विशेष गरी भर्खर सदस्यता लिएका नवप्रवेशी सदस्यहरू बढी पीडित हुने गरेको छ । वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने ऐन, २०७४ ले नेटवर्क मार्केटिङ÷पिरामिडमा आधारित व्यवसायलाई बन्देज गरेको छ ।
नेपाल जस्तो सीमित पुँजी भएको र स्वदेशी पुँजी विदेश लैजान बन्देज लगाइएको मुलुकमा क्रिप्टोमार्फत पुँजी पलायन हुनबाट जोगाउनु नै मुख्य चुनौती रहेको देखिन्छ । यसैगरी, नवीन प्रविधिको सहयोगमा क्रसबोर्डरका रूपमा सञ्चालित नेटवर्क व्यवसायबाट अवैधानिक माध्यम वा हुण्डीमार्फत पैसा विदेशिने पुँजी पलायन हुन सक्ने राष्ट्र बैंकको ठहर छ ।
क्रिप्टोको बढ्दो प्रयोगबाट समस्त वित्तीय स्थायित्वमा नै असर पर्ने, केन्द्रीय बैंकको नियन्त्रणबाहिर भएकोले यसको व्यापक प्रयोग भएमा मुद्रा प्रदाय मा गणना नभई मौद्रिक नीतिको प्रभावकारितामा असर पर्न राष्ट्र बैंकको भनाई छ ।
क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगबाट समस्त वित्तीय स्थायित्वमा नै असर पर्ने तथा अन्तर्राष्ट्रिय मुद्राकोषले अक्टोबर २०२१ मा जारी गरेको ग्लोबल फाइनान्सियल स्टेबिलिटी रिपोर्टमा क्रिप्टोकरेन्सीलाई विश्वव्यापी वित्तीय स्थायित्वको तीन वटा प्रमुख चुनौतीमध्येको एक भनेर उल्लेख गरिएको जनाएको छ ।