काठमाडौं । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ वटा जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्ने घोषणा गरेको छ ।
निर्माण कार्य अन्तिम चरणमा रहेको सो विमानस्थल सञ्चालनमा आएपछि ५ जहाजमार्फत राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको हो ।
विमानस्थलको काम ७० प्रतिशत पूरा भइसकेका बेला बुद्धले एक विज्ञप्ति जारी गरी आफू त्यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि तयार रहेको बताउँदै विमानस्थलको रनवेलाई पूर्वतिरबाट जोड्नसमेत आग्रह गरेको छ ।
बुद्धले पोखराबाट भारतका विभिन्न गन्तव्यमध्ये सुुरुवातमा नयाँ दिल्ली, देहरादुनमा सीधा अन्तर्राष्ट्रिय उडान भर्ने जनाएको छ । त्यसै गरी पोखराबाट धौलागिरिदेखि सगरमाथासम्मको हिमशृृंखला दृश्यावलोकन उडान तथा काठमाडौं र अन्य सहरमा आवश्यकताअनुसार दैनिक सीधा उडान भर्ने बुद्धको योजना रहेको विज्ञप्तिमा उल्लेख छ ।
पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वाधारमा ‘ट्याक्सी–वे’ लाई ‘रन–वे’ को एकतर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरु हुने देखिएको बताइएको छ ।
हाल निर्माणधीन पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्व–पश्चिम ‘रन–वे’ को पश्चिम ‘रन–वे’ लाई मात्र अन्त्यसम्म ‘टयाक्सी–वे’ ले जोडिएको छ । पश्चिममा पर्ने ठूलो डाँडाका कारण विमान अवतरण पूर्वबाट मात्र सम्भव छ । तर, पूर्वी रन–वेलाई ‘टयाक्सी–वे’ ले जोडिएको छैन । यसैकारण विमानहरुले उडान भर्न पश्चिमबाट मात्र सम्भव छ । जसकारण ‘हवाई ट्राफिक’ बढ्न गई स्वतः उडानहरु कम हुने देखिएको बुद्धको दाबी छ ।
आधा रन–वेसम्म मात्र भएको ‘टयाक्सी–वे’ लाई पूर्वको ‘रन–वे’ को अन्त्यसम्म तुरुन्तै जोड्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
बुध्द एयरका मार्केटिङ निर्देशक रुपेश जोशीले अहिले ‘रन–वे’ र ‘टयाक्सी–वे’ को निर्माण सिमेन्ट कंक्रिटले भइरहेको र बाँकी ‘टयाक्सी–वे’ निर्माण गर्दा प्रक्रिया लम्बिनुका साथै निर्माण खर्च पनि महँगिने हुँदा विशेषज्ञको सल्लाह लिई ‘अलकत्रको पिच’ मात्र गरे पुग्ने बताएका छन् ।