काठमाडौं । कलममा तपाईं वार्षिक कति रुपैयाँ खर्चिनु हुन्छ ?
सम्भवतः यो प्रश्नको ठोस जवाफ कसैसँग हुँदैन । कलमजस्तो खुद्रा सामग्रीमा कसैको ध्यान नै जाँदैन । वर्षभरि हामीले थाहै नपाइकन थुप्रै कलममा पैसा व्यय गर्छौं । तर, न तिनकोे राम्रोसँग जोहो गर्छौं न हिसाब नै ।
कलमको प्रयोजन र महत्व भनेको लेख्नबाहेक अरुमा प्रयोग सायदै होला । यसैले त औसत मानिसहरु एउटा कलमका लागि अधितम ५० रुपैयाँभन्दा धेरै कहिल्यै खर्चिंदैनन् । यद्यपि कलमको मूल्य र महत्व भने अमूल्य छ ।
तर, संसारमा कतिपय यस्ता मानिसहरु पनि छन् जसले यसलाई व्यक्तित्व र सोखसँग जोडेर एउटै कलमका लागि लाखौं लाख रुपैयाँ खर्च गरिरहेका हुन्छन् ।
यो सुनिरहँदा मनमा प्रश्न उठ्न सक्छ, के कलमलाई पनि कसैले विलासिताको वस्तु बनाउँछ र ? जाबो एउटा कलमका लागि त्यति धेरै खर्च कसले गर्छ र ?
मनमा थोरै मात्र पनि आशंका छ भने यो प्रश्नको उत्तर खोज्न टाढा गइरहनै पर्दैन । न्युरोडस्थित धर्मपथ मार्गको सुरुवाती भवनको भुइँतलामा पाइलट पेनको स्टोर पुग्नुभयो भने तपाईंका सम्पूर्ण आशंका र जिज्ञासाको हल भेटिन्छ ।
बाहिरबाट हेर्दा यो कुनै सामान्य स्टेसनरी होलसेल पसलजस्तो लाग्छ । तर, भित्र छिरेपछि यहाँ कलमको बजार देख्न सकिन्छ ।
१० रुपैयाँदेखि डेढ, २ सय रुपैयाँसम्मका कलमहरु र्याकभरि खचाखच राखिएका छन् । भित्र हेर्दै जाँदा भित्तामा बडो जतनका साथ केही कलमहरु मसीदानीसहित सुन्दर सन्दुकभित्र सजाएर राखिएको पनि देख्न सकिन्छ ।
सन्दुकभित्र मलमलको कपडामा बेरिएका यी कलमहरुको डिजाइन, रंग र बुट्टा अत्यन्तै क्लासिक छ । तिनको निब, कभर आदिको बाहिरी भागमा सुनको लेपन लगाइको छ ।
हामीलाई स्टोर अवलोकन गराइरहेका गोपाल चौधरीसँग ती कलमहरुको मूल्यबारे जिज्ञासा राख्यौं ।
जापानीज ब्रान्ड पाइलट पेनको एकमात्र आधिकारिक वितरक फेयर ट्रेडका बजार व्यवस्थापक चौधरीले त्यहाँ राखिएका विभिन्न कलमहरुको मूल्य बताए । उनका अनुसार तिनको मूल्य १० हजारदेखि ५० हजारसम्म छ ।
चौधरीले बताए अनुसार फेयर ट्रेडको स्टोरमा १० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मका १७० किसिमका कलमहरु उपलब्ध छन् । ग्राहकको मागअनुसार १ लाख रुपैयाँ र त्योभन्दा बढी मूल्यका कलमहरु पनि कम्पनीले जापानबाट समय समयमा ल्याउने गरेको उनी बताउँछन् ।
कलमलाई प्रत्यक्ष आँखाले देखेपछि विश्वास पनि भयो । तर, फजुल सोखबाहेक त्यसको महत्व कसलाई के छ ? जस्तो लाग्न सक्छ । वास्तवमा प्रयोग गर्नेलाई मात्र चिजको मूल्य र महत्व थाहा हुन्छ ।
ठूला कम्पनीका कार्यकारी, व्यावसायिक घराना तथा उच्च ओहोदाका व्यक्तिहरुले ती कलमहरु खरिद गर्ने गरेको चौधरी बताउँछन् ।
‘नेपाल एयरलाइन कर्पोरेसनका पूर्वप्रमुख सधैं यहाँ कलम किन्न आउनुहुन्थ्यो’, चौधरी भन्छन्, ‘विशाल ग्रुपका पहिलेका एक जना महाप्रबन्धक पनि नयाँ कलम आउनेबित्तिकै लिन आउनुहुन्थ्यो ।’
सोखको अघि कसको जोर चल्छ र ! सामान्य व्यक्ति र आर्टिस्टहरुसमेत स्टोरमा महंगा कलमहरु किन्न आउने गरेका छन् । सोखिनहरुले किन्ने र धनाढ्यहरुले अरुका लागि उपहारको रुपमा लिने गरेका छन् ।
कलमको ग्ल्यामर नै छुट्टै छ । व्यक्तित्वमा यसले स्टाइल र बौद्धिक सान थपिदिन्छ । कलमको पनि यति चर्को मूल्य हुनाको पछाडि कारण छ । कारण के भने, यसको क्लासिक डिजाइन, यसमा प्रयोग हुने धातु र सामान्य कलमहरुको तुलनामा किफायती हुनु नै हो । समात्दा हातको राम्रो ग्रिप बस्ने, लेख्नलाई सहज हुने यसका विशेषता हुन् । सामान्य कलममाजस्तो यसमा मसी लिकेजको समस्या आउँदैन । र, अर्को कुरा, यसको ब्रान्ड भ्याल्यू नै महँगो मूल्य हो ।
लेख्न मन पराउने व्यक्तिहरुका लागि कलम विशेष महत्व हुने फेयर ट्रेडका प्रमुख शैलेश गोयंका बताउँछन् ।
‘मान्छेहरुले हस्ताक्षर गर्दा यस्ता कलमहरु प्रयोग गर्न मन पराउँछन् । लक्जरी आइटकमको भ्याल्यु भनेको स्टाटसको सिम्बल हो । यो एकदमै व्यक्तिगत सोख हो’ गोयंका भन्छन् ।
यस्ता कलमहरु कहिले महिनामा २/३ वटा त कहिले ३/४ महिनासम्म एउटा पनि बिक्दैनन् । यसका खरिदकर्ता वर्गीकृत हुन्छन् । यसैले यी स्टकमा भन्दा पनि मागअनुसार आयात गरिन्छन् ।
सामान्यतया ७/८ हजारदेखि माथिका कलमलाई स्टोरले प्रिमियम र महँगो क्याटोगोरीमा राखेको छ । यस्ता पेन १५ देखि २० भेराइटीमा उपलब्ध छन् ।
फेयर ट्रेडले सन् २०११ देखि यी कलमहरु नेपाल भित्र्याउन थालेको हो । त्यसअघिसम्म कम्पनीले २५/३० भेराइटी मात्र आयात गरिरहेको थियो ।
यी सम्पूर्ण पेन जापानबाटै तयारी भएर आउँछन् ।
स्टोरमा भएका १७० प्रकारका कलमहरु; विशेष गरी बलपेन, जेलपेन र फाउन्टेन पेन हुन् । बलपेनको मूल्य १० रुपैयाँदेखि अधिकतम ५ हजारसम्म छ । जेलपेन न्युनतम ६० देखि ७/८ सयसम्म उपलब्ध छ । यसैगरी प्रिमियम फाउन्टेन पेनको मूल्य १० हजारदेखि सुरु हुन्छ । यस्तै बच्चाहरुका लागि ७/८ सय देखि २ हजारसम्म उपलब्ध छन् ।
नुन देखि सुनसम्मको मूल्य भएको यो स्टोरमा विद्यार्थीदेखि उच्च वर्गका सबै जना कलम खरिद गर्न आइपुग्छन् । सबैभन्दा धेरै बिक्री हुने कलम १०/२० रुपैयाँ सेग्मेन्टका हुन् । महँगोमा अधिकतम बिक्री हुने भनेको १ हजार रुपैयाँसम्मको हो ।
बाहिरी बजारमा यस्ता महंगा कलमहरु कतै–कतै पाइए पनि तिनले अत्यधिक मार्जिन राखेर बेच्ने गरेको चौधरी बताउँछन् ।
बजारमा भारतीय ब्रान्डका सेल्लो, टिपटपजस्ता कलम पनि निकै चल्छन् । तर, पाइलट पेन नेपालको नम्बर–वान ब्रान्ड कलम रहेको फेयर ट्रेडका प्रमुख गोयंका बताउँछन् ।
अहिले सम्पूर्ण सरकारी निकायहरुमा पाइलट पेन नै प्रयोग हुन्छ । नेपालमा पाइलटको बजार हिस्सा धेरै छ । सामान्य पाइलट पेनको वार्षिक १३० कार्टुन त धर्मपथ मार्गकै उक्त स्टोरबाट सेल हुने चौधरीले बताए ।
फेयर ट्रेड व्यासायिक घराना फेयर ग्रुपको भगिनी कम्पनी हो । यो कम्पनी जापानीज ब्रान्ड पाइलट पेनको नेपालका लागि एक मात्र आधिकारिक वितरक मानिन्छ ।
४० वर्षअघि प्रतिष्ठित व्यवसायी श्रीकृष्ण गोयंकाले स्थापना गरेको फेयर ग्रुपले सुरुवाती दिनमा युनिबल पेन पनि आयात गरी बिक्री गर्दै आइरहेको थियो । त्यसबाहेक विभिन्न जापानी ब्रान्डका विद्युतीय होम अप्लायन्स तथा सामग्रीहरु पनि ग्रुपले बिक्री गर्दै आइरहेको छ ।
कोभिड महामारीमा निषेधाज्ञाका कारण शैक्षिक क्रियाकलाप बन्द हुँदा बिक्री–वितरणमा असर पुगेको थियो । यद्यपि पाइलट पेन नेपालको नम्बर वान ‘पेन ब्रान्ड’ को रुपमा कायम रहिरहेको फेयर ट्रेड बताउँछ ।